म्याच फिक्सिङ गर्नेलाई जेल हाल्ने कानुन बन्यो

98

एनपिएल न्युज ५ फागुन, काठमाडौं । म्याच फिक्सिङ गर्ने खेलाडी तथा खेल पदाधिकारीलाई सजाय दिने नयाँ कानुनी व्यवस्था भएको छ ।

संसदको बिधायन समिति अन्तर्गतको उपसमितिले बिहीबार पारित गरेको फौजदारी कसुरसम्वन्धी विधेयकमा म्याच फिक्सिङलाई राष्ट्रहित प्रतिकुल काम भनिएको छ र यसलाई दण्डनीय बनाइएको छ ।

समितिका सदस्य सांसद रेवतीरमण भण्डारीका अनुसार नेपाली खेलाडीहरुले विदेशी खेलाडीसँगको प्रतियोगिता खेल्दा म्याच फिक्सिङ गरेको पाइएमा सबै रकम जफत गरी ३ वर्ष कैद र ३० हजार जरिवाना गर्ने व्यवस्था कानुनमा भएको छ ।

सांसद भण्डारीले भने, ‘नेपालको प्रतिनिधित्व गरेर विदेशमा खेल खेल्दा वा नेपालमा आएका विदेशी खेलाडीसँग खेल्दा अनुचित ढंगले लेनदेन गरेको रहेछ भने र हार्नेलाई जित्ने वा जित्नेले हार्ने गरेको पाइएमा निजले लिएको रकम जफत गरी ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना गर्ने व्यवस्था थपिएको छ ।’
विधेयकमा राष्ट्रियस्तरमा हुनसक्ने म्याच फिक्सिङबारे भने बोलिएको छैन । उपसमिति संयोजक सांसद कृष्णभक्त पोखरेलका अनुसार आगामी संशोधनहरुमा यसलाई समावेश गर्दै जान सदस्यहरु सकारात्मक छन् ।

फौजदारी संहितामा समावेश यो व्यवस्था व्यवस्थापिका संसदले पारित गरेपछि कानुनका रुपमा आउने छ ।यसअघि म्याच फिक्सिङ गर्ने खेलाडीमाथि कारवाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाई राज्य विप्लवको मुद्दा लगाइएको थियो । तत्कालीन कप्तान सागर थापा लगायतमाथि लागेको म्याच फिक्सिङको मुद्दा अझै टुंगिएको छैन ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...