द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’

41

कालिका खड्का काठमाडौ, १३ पुस । ‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’ दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् ।
“सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,” उनले भक्कानिदै सुनाइन् – “कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।”
बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई जवान आएर च्याप्प पाखुरा समातेकोे उनलाई याद छ । स्वीटरको गोजीबाट रुमाल निकालेर आँशु पुछ्दै उनले भनिन् – “बन्दूकको नाल छातीमा टाँसेर ‘कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै दुवैले पालैपालो बलात्कार गरे ।”
बाँच्न त उनी बाँचेकी छिन् तर, बाबुआमाको ममतामा खेल्ने र पढ्ने उमेरमै उनको सपना चकनाचुर भयो । आफ्ना पीडा सुनाउँदा उनी धेरै पटक बोल्नै नसकेर भक्कानिन् । निकै बेरको मौनतापछि सम्हालिँदै उनले आक्रोशपूर्ण स्वरमा भनिन् – “म अबोध बालिकाको के दोष थियो ? मैले के गल्ती गरेको थिएँ र मैले कलिलो उमेरमै अकल्पनीय यातना भोग्नुप¥यो ? कहाँ छ सरकार ! अहिलेसम्म उसले बलात्कार पीडितको पीडा महसुस गरेन ।” उनको बालक कालमै पाठेघर खसिसकेको छ । तर अहिलेसम्म घटनाका बारेमा कसैलाई भनेकी छैनन् । उनलाई घरपरिवार र समाजको डर छ ।

“समाजले त्यो बालिकामाथि यत्रो बज्रपात भयो भनेर माया, दयाको दृष्टिले हेर्दैन, सोच्दैन, उल्टै घृणा गरेर घरबाट निकाल्छ,” उनले भनिन् । यस्तै पीडा भोगेका धेरैलाई समाजले छिःछिः र दूरदूर गर्ने गरेको उनले देखेकी छन् । त्यसैले जति पीडा भए पनि उनी अहिलेसम्म आफ्नो पीडा कसैलाई सुनाउने साहस गरेकी छैनन् । उनको सरकारसँग ठूलो माग केही छैन । स्वास्थ्य उपचारका लागि खर्च दिए पुग्छ भन्छिन् ।

सशस्त्र द्वन्द्वको सययमा बलात्कारको पीडा भोग्ने उनी एक्ली होइनन् । यस्ता धेरै अबोध बालिकाले बलात्कारजस्तो जघन्य अपराध सहनुप¥यो । द्वन्द्वकालका बलात्कृत महिलाको पीडा अकल्पनीय छन् । अर्की किशोरीको पीडा पनि त्यतिकै दर्दनाक छ । धारामा नुहाइरहेको अवस्थामा नेपाली सेनाको गस्ती आइपुग्यो । हात समातेर जबर्जस्ती उनलाई लगे छाउनीमा । “पेटिकोट लगाएर नुहाइरहेकी थिएँ, आर्मी आएर आँखामा पट्टी बाँधेर जबर्जस्ती हात तानेर लगे,” उनले भक्कानिदै भनिन् – “व्यारेकमा लगेर एउटा सानो कोठामा राखे । छ जना आर्मी थिए, पालैपालो बलात्कार गरे । एउटा पेटिकोटमा ३३ दिनसम्म मलाई त्यहीँ थुनेर राखे । हरेक दिन आएर बलात्कार गर्थे । म बोल्न, उठ्न सक्ने थिइनँ ।” उनलाई खाना त्यहीँ ल्याएर जबर्जस्ती खुवाउँथे । कसैलाई भनिस् भने मारिदिन्छु भनेर उनीहरुले बन्दूकको नाल तेस्र्याउँथे । उनलाई त्यही कोठामा दिसापिसाब गर्ने भाँडो राखिदिएको थियो । तँ माओवादी होस् भनेर बन्दूकको नालले घोच्थे । तेत्तीस दिनपछि आफूलाई जङ्गलमा लगेर छाडिदिएका र त्यसपछि घर गएको उनले सुनाइन् । कसैलाई केही भनिनन् । आफन्तकामा गएर बसेको बहाना बनाए । आमाबुबा र अरु कसैलाई भनिस् भने मारिदिन्छु भनेका घरिघरि सम्झन्थिन् । घटना भएको छ वर्षपछि उनको विवाह भयो । दुई छोरा जन्मिए । “कता कताबाट गाउँलेलाई घटनाबारे थाहा भएछ,” उनले भनिन् – “आर्मीले बलात्कार गरेकी भनेर घृणा गर्छन् । परिवार, समाजमा बस्न गा¥हो छ । मर्न पनि सकिँदैन ।” दुबै हातले आँशु पुछ्दै उनले भनिन् – “म निर्दोष मान्छे । गल्ती के थियो र मेरो चरित्रमाथि प्रश्न उठाउन ?” उनलाई समाजमा आत्मसम्मानपूर्वक बस्न मन छ । सरकारसँग उनको यही माग छ ।

ते¥ह वर्षको उमेरमा बलात्कारको पीडा भोग्न बाध्य अर्की बालिकाको पीडा पनि सुन्नैै नसकिने छ ।

सबै परिवार सुतिरहेका बेला राति घरमा ढोका ढक्ढकाएको आवाज सुनियो । बाबुले ढोका खोल्नुभयो । “चारजना मान्छेले ‘बुबाआमालाई बोलिस् भने मारिदिन्छु’ भनेर मलाई हात समातेर ‘क्रान्तिका लागि हिँड’ भन्दै जबर्जस्ती तानेर लगे,” उनले आफ्नो पीडा सुनाउँदै भनिन् – “अँध्यारोमा आँखाले देख्न नसकिने, हिँड्नै नसकिने, जङ्गलको बीचमा एउटा ओडारजस्तो भेटियो । त्यही भात पकाएर खाए । मलाई पनि जबर्जस्ती खुवाए ।”

उज्यालो भयो भने सेनाको गस्ती आउँछ भनेर उनीहरुले सबै सामान झोलामा राखेको उनलाई सम्झना छ । उनीहरुसँगै लैजालान् भन्ने उनलाई लागेको थियो तर, उनले कल्पना नगरेको घटना भयो । “चारजनाले मलाई पालैपालो बलात्कार गरे, म बेहोश भएछु, मरे तुल्य बनाएर जङ्गलको बीचमा छाडेर गएछन्,” त्यो घटना सुनाइरहँदा उनको गला अवरुद्ध भयो र विस्तारै उनले भनिन् – “होश आउँदा म रगतमा डुबेको थिएँ । शरीरमा कुनै कपडा थिएन ।”

जङ्गलको बाटो उनलाई थाहा भएन । हिँड्ने शक्ति पनि थिएन । उनले भनिन् – “पीडाले म रातभर बेहोश भई लडिरहें । उज्यालो भएर घाम लागिसकेछ । गाउँका एक व्यक्तिले परबाट मलाई देखेर अस्पताल लगेछन् ।”

घरमा उनलाई बाबुआमाले खोजिरहेका थिए । अस्पतालमा सामान्य उपचार भएपछि उनी आफंै विस्तारै घर गइन् । बाबुआमालाई पनि घटना सुनाइनन् । “शरीर पूरै दुःखेको थियो, ज्वरो आयो भनेर म केही दिन सुतें तर, अहिलेसम्म पनि त्यो घटना कसैलाई पनि भनेको छैन, मैले न्याय पाउने आशामा पहिलो पटक मुख खोलेकी हुँ,” उनलाई त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिङ् हुन्छ । उनले पीडा सहेरै एसएलसीसम्म पढिन् । घटना भएको सात वर्षपछि घरमा बिहेको कुरा आयो र बिहे भयो । उनको एउटा छोरो छ ।

“त्यो घटना भएपछि मेरो पाठेघर खसेको थियो तर, मैले त्यो कुरा कसैलाई भनेको छैन, पाठेघर भनेको थाहा नपाउँदै खस्यो, तै पनि म सहेर चुपचाप बसें, अहिलेसम्म बसेको छु,” उनले भनिन् । घटना थाहा पाएमा परिवार तहसनहन हुने पीर छ उनलाई ।

त्यो घटनापछि उनलाई धेरै मान्छे भएको ठाउँमा बस्न मन लाग्दैन । रुन मात्र मन लाग्छ । अरु हाँसीखुशी हिँडेको देख्दा पनि उनलाई आफ्नो जीवन देखेर धिक्कार्न मन लाग्छ । कुर्ताको सलले आँशु पुछ्दै उनले पीडा पोखिन् – “कति आँशु बग्यो, त्यो आँशु कस्ले देख्यो ? आँशुको मूल्य कति हो ? यतिका वर्षसम्म सरकार कहाँ छ ?”

उनलाई छोरो पढाउने र स्वास्थ्य उपचार गर्ने व्यवस्था सरकारले मिलाइदिए हुन्थ्यो भन्ने आशा छ ।

द्वन्द्वका बेलामा खासगरी नेपालको पश्चिम भेगमा बालिका बलात्कारका दर्दनाक घटनाहरु भए । अर्की एक बालिकाले पनि द्वन्द्वमा यस्तै अमानवीय पीडा सहनुप¥यो । कालीकोट नेपाली सेनाको गस्ती गाउँमा गयो । ती किशोरी, दुई शिक्षक र विद्यालयका अरु दुई दाइलाई अपरहण गरेर लग्यो । त्यो बेला उनी ११ वर्षकी थिइन् ।

उनकै अगाडि चारजनालाई सेनाले गोली हानेर मा¥यो । उनको शरीर डरले कामिरहेको थियो । आफ्नो पीडा सुनाउँदै उनले भनिन् – “शिक्षक र दुई दाइलाई गोली हानेको देखेर डरले मेरो होश हराइसकेको थियो, आठ जनाले पालैपालो बलात्कार गरे । म बेहोश भएँ ।” निकै बेर उनी निःशब्द भइन् । गला अवरुद्ध भयो । उनले विस्तारै आवाज निकालेर भनिन् – “बलात्कारपछि मलाई मर्न खोजेका रै’छन् । मेरी ठूली आमाले ‘यो बच्चीलार्ई किन मार्छस्, मलाई मार’ भनेको सुन्दा मेरो होश खुल्यो ।”

घटनापछि उनी ठूली आमासँग घर फर्किन । तर, उनले भोगेको त्यो अमानवीय यातना त्यतिमै सीमित भएन । उनले भनिन् – “नेपाली सेनाको गस्ती फेरि गाउँमा आयो । मलाई परिवारकै अगाडि बलात्कार गरियो । बाबुआमालाई बोलिस् भने गोली हादिन्छु भनेका थिए, डरले केही बोलेनन् ।”

घटनाका चारवर्षपछि उनको बिहे भयो । एक वर्षसम्म श्रीमान्सँगै बसिन् । तर त्यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन । उनी निकैबेर भक्कानो छोडेर रोइन् । पीडा भन्ने र सुन्ने दुवैलाई सहनै नसक्ने थियो । निकैबेर पछि साहस बटुल्दै उनले भनिन् – “श्रीमान्लाई आर्मीले बलात्कार गरेको भन्ने कुरा कसैले भनिदिएछ, त्यसपछि उनमा अमानवीय व्यवहार मात्र हैन, छिःछिः र दूरदूर गरेर घरबाट निकाले ।” उनी त्यो बेला दुई महिनाकी गर्भवती थिइन् । श्रीमान्बाट छुट्टिए । उनलाई त्यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्यो । उनी जिल्लै छाडेर सुर्खेत गइन् ।

बाल्यकालमै सुनौला भविष्यका सपना चकनाचुर भयो । अहिले काम गरेर जीवन निर्वाह गर्न उनलाई कष्टकर भएको छ । “पाठेघर खसेको छ, भारी बोक्न मिल्दैन, अरुको भाँडा माझेर छोरो पाले, पढाउन सकिनँ,” उनले भनिन् । उनले छोरोको जन्म दर्ता गर्न सकेकी छैन ।

द्वन्द्वपीडित साझा चौतारीले गत मङ्सिर र यही पुसमा सिराहा, कैलाली र पोखरामा मानवअधिकार उल्लङ्घनका घटनामाथि आयोजित द्वन्द्वपीडितहरुको ‘सत्यको बयान’ कार्यक्रममा बलात्कृत महिलाहरुले यसरी आ–आफ्ना कथाव्यथा पोखेका हुन् । गोप्य रुपमा उनीहरुलाई आफ्नो भोगाइ अभिव्यक्त गर्ने व्यवस्था आयोजकले मिलाएको थियो ।

कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाकोे पीडा दर्दनाक छ । त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन् । राहत र सहयोगका नाममा एक रुपैयाँ पाएका छैनन् । विस्तृत शान्ति सम्झौता भएको पनि १२ वर्ष बित्यो तर, उनीहरुको पीडामा मल्हम लगाउने काम भएन ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार यस्ता पीडामा ३०८ जना महिला परेका छन् । “आयोगमा दर्ता भएका द्वन्द्वमा बलात्कृत महिलाको सङ्ख्या ३०८ छन्, उनीहरुले अहिलेसम्म केही राहत पाएका छैनन्,” आयोगका सदस्य मञ्चला झाले भन्नुभयो – “आयोगले परिपूरणका लागि सिफारिश गर्छ । उनीहरुको परिपूरण तथा राहतको व्यवस्था सरकारले मिलाउँछ ।”

बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकाँश बलात्कृत महिलाको गुनासो छ । उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन् । निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन । यो समस्यालाई सरकारले मानवीय ढङ्गले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भन्नुभयो – “बलात्कारपीडित महिलाका समस्यालाई सरकारले सम्बोधन गर्छ । कुन प्रक्रियाबाट उनीहरुको मागको सम्बोधन हुन्छ भनेर सरकारले आन्तरिक गृहकार्य गरिरहेको छ ।” मन्त्री ढकालका अनुसार बलात्कारपीडितको मागप्रति सरकार गम्भीर छ ।

सरकारले द्वन्द्वकालीन घटनाका सत्यतथ्य पत्ता लगाउन गठित आयोगको कार्यकाल पनि आगामी माघ २६ मा सकिँदैछ । आयोगमा उजूरी दिएका बलात्कारपीडित महिलाको स्वास्थ्य उपचार तथा जीविकोपार्जनमा राज्यबाट यथासम्भव सहयोग हुनुपर्छ भन्दा अतिशयोक्ति हुँदैन । रासस

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here