भाइटीका उल्लासपूर्वक मनाइयो

83

एनपिएल न्युज काठमाडौं, कात्तिक ५ : यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइ मनाइएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखन्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेहरुले बिहान ११ बजेर ५१ मिनेटको उत्तमसाइतमा लगाएका छन् । 

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा अष्टदल लेखी त्यसमा मार्कन्डेय, अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराजलगायत देवताको पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार–प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचओटा उल्लेख छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने परम्परा छ ।

Loading...