एमालेलाई कसैले उचाल्दैमा उचालिने पार्टी हैन-लेखेर राख्नुस संशोधन प्रस्ताब कुनै हालतमा पारित हुँदैन

102

एनपिएल न्युज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ससंदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दावी गर्नुभएको छ ।

नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटनपछि अध्यक्ष ओलीले संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावमा छलफलसमेत नहुने बताउनुभयो ।

राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने गरी संशोधन पेश भएकाले त्यस्तो प्रस्तावको कुनै औचित्य नभएको उहाँको भनाई थियो । यस्तो गम्भीर बिषयमा एमाले कसैले उचालेर नउचालिने भन्दै संशोधन प्रस्तावमा छलफल हुने र पारित हुने भ्रममा नरहन नेता कार्यकताहरुलाई आग्रहसमेत गर्नुभयो ।

प्रादेशिक सभा गठन र सिमांकन नगरी संविधान संशोधन गर्न संविधानको धारा २७४ ले निषेध गरेको समेत उहाँले जिकिर गर्नुभयो । सरकारले निर्वाचन घोषणा गरेर अघि बढ्नुपर्ने बेला कसैको निर्देशनमा संशोधन प्रस्ताव पेश गरेर देशको आवश्यकता विपरीत कदम चालिरहेको आरोप लगाउनुभयो ।

सरकार मुलुकको सरकार बनाउने र गिराउने अस्थिर खेल प्रति संकेत गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार नराम्रो काम गरेर नभई राम्रो गरेका कारण ढलाइएको दाबी गर्नुभयो । उहाँले देशले कोल्टे फेर्ने, अघि बढ्ने समय आएको भन्दै सबै नेपालीलाई एकतावद्ध हुन आव्हान गर्नुभयो ।

शनिवारदेखि सुरु भएको एमाले जिल्ला अधिवेशन आगामी सोमबारसम्म चल्नेछ । अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान एमाले उपाध्यक्ष तथा सांसद दरबहादुर थापा, प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटा र केन्द्रिय उर्जा बिभागका सदस्य हिराबहादुर केसी चुनावी मैदानमा देखिएका छन् ।

एमाले अध्यक्ष ओली जिल्ला अधिवेशन उद्घाटन पूर्व बागलुङको पहिचानका रुपमा रहेको ढोरपाटन पुग्नुभएको थियो। हेलिकप्टरबाट ढोरपाटन पुगेका ओलीले पर्यटकीय स्थल ढोरपाटन शिकार आरक्ष, मुलुककै ठूलो सम्भावनासहित सुरुवात गर्न लागिएको उत्तरगंगा जलाशययुक्त आयोजनास्थल लगायतको अवलोकन गर्नुभएको थियो ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...