प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

92

एनपिएल न्युज काठमाडौंँ, ७ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो । 

प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ”–प्रधानमन्त्रीसँग अध्यक्ष दाहालले भन्नुभएको कुरा उद्धृत गर्दै प्रेस संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभएको थियो । यस्तै सो अवसरमा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित बनाएर लैजान सबै पक्ष मिलेर जाने विषयमा समेत छलफल भएको थियो । (रासस)

Loading...