बन्द सूचि बुझाउन आयोगमा पुगेका कांग्रेस र एमाले बैठकमा व्यस्त

148

एनपिएल न्युज काठमाडौं, असोज २९ : आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावको लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आयोगमा पुगेका नेपाली कांग्रेस र नेकपा एमालेको छुट्टा छुट्टै बैठक बसिरहेको छ । दुवै दलका मुख्य मुख्य नेताहरुसहितको बैठक छुट्टा छुट्टै बसिरहेको छ । समानुपातिक उम्मेदवारको सूचि तयार पार्न नसकेका यी दलले सूचिलाई अन्तिम रुप दिन आयोगमा नै छलफल गरिरहेका हुन् । उम्मेदवारका लागि जिल्लाबाट धेरै नै नेताको नाम आएकाले कसलाई राख्ने कसलाई नराख्ने भन्ने समस्या प्राय ठूला दल सबैलाई परेको छ । 

निर्वाचन आयोगले बिहान १० बजेदेखि ५ बजेसम्म बन्द सूचि बुझाउन समय दिएको भए पनि ठूला दलले कार्यालय समय सकिनै लाग्दा आयोगमा पुगेर टोकन लिएका थिए । ५ बजेसम्म टोकन लिने दलले आज राती अबेरसम्ममा पनि सूचि बुझाउन सक्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अहिलेसम्म ५२ वटा दलको बन्द सूचि दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला दलको सूचि अझै दर्ता भएको छैन । तर उनीहरुले टोकन लिएका कारण राति अबेरसम्ममा पनि बन्द सूचि दर्ता गरिने छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...