के पाउँदै छन् आज बिदा हुने सांसदले ?

33

एनपिएल न्युज काठमाडौं, २८ असोज : संविधानसभाबाट रुपान्तरित ब्यवस्थापिका संसदको अवधि आज रातीदेखि सकिदैछ । भोलि प्रतिनिधिसभाको समानुपातिक सिटमा उम्मेदवारी दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनबाट संसदको अवधि समाप्त हुने संविधानको संक्रमणकालीन ब्यवस्थामा उल्लेख छ । 

संसद् सचिवालयले औपचारिक रूपमा आज विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ । सांसदको पदावधि सकिने भएकाले सभामुख ओनसरी घर्तीले आज दिउँसो ३ बजे विदाइ बैठक बोलाउनु भएको छ । त्यसअघि अपरान्ह २ बजे सामुहिक तस्विर खिचाउने कार्यक्रम तय गरिएको छ ।

३ बजे बस्ने संसदको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विदाई भाषण गरेपछि सभामुख घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुनेछ । दोस्रो संविधानसभाको पहिला बैठक २०७० माघ ७ मा सुरु भएको थियो ।उक्त समयसीमाअनुसार संविधानसभाको कार्यकाल चार वर्ष तोकिएको थियो ।

तर, संविधान सभाले करिब १८ महिनामा संविधान जारी गरेपछि संविधानसभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो । विसं २०७२ असोज ३ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो । रूपान्तरित व्यवस्थापिका संसद् संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित भएको थियो ।तर प्रमुख तीन दलबीच सहमति जुट्न नसक्दा महत्वपूर्ण दुई विधेयक भने पारित हुन सकेन । सहमति नजुट्दा चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्बन्धि विधेयक पारित हुन नसकेको हो । अब सरकारले यी दुई विधेयकलाई अध्यादेशका रुपमा जारी गर्न सक्नेछ ।
सांसदले के पाउँदै छन्
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।

तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।

Loading...