डिआइजी सिलवाल बने कमरेड सिलवाल !

43

एनपिएल न्युज काठमाडौं, असोज २० : प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवाल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै सिलवालले देशलाई समृद्ध बनाउन सक्ने र त्यस प्रकारको सोच बिचार भएको पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले आफू देश र समाजलाई बुझ्दा बुझ्दै पनि अन्यायमा परेको बताउनुभयो । अहिले समाजमा अन्याय र पीडामा परेका नागरिकको प्रतिनिधि पात्रको रुपमा आफू उभिएको उहाँको भनाई छ । आफू आइजीको दाबेदार भएको तर सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले दायर गरेको सर्वोच्चले खारेज गरेको थियो ।

त्यसपछि उहाँले एक विज्ञप्ती निकाल्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो । उहाँको राजीनामा अहिले पनि स्विकृत नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर सिलवाल भने राजीनामा स्विकृत नहुँदै पार्टी प्रवेश गर्नुभएको छ । सिलवालले दसैँमा पनि केपी ओलीको हातबाट टिका लगाउनुभएको थियो ।