एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो होईन–प्रधानमन्त्री केपी शर्मा ओली

जनतापत्र संवाददाता, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै व्यवस्थापनमा सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने प्रष्ट पारेका छन् ।

पछिल्लो समय वाइड बडी जहाज किन्न लिएको ऋणको किस्ता तिर्न नसकेको एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ । ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो। आफैं सक्ने भए छिटो गर्न पर्यो , उनले भने, गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन। यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।

पर्यटन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए । नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले बनाए ।