पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन

293

पवन महरा
डोटी २६ फाल्गुन
शिखनर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ । दुई दिन सम्म सञ्चालन हुने शिविर नेपाली काँग्रेस डोटीका सभापती प्रदिप देउवाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।


शिखर नगरपालिका ८ गोपघाट स्थित शिखर पोलिक्लिनिकमा आइतबार देखि सञ्चालन भएको शिविरको अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाज र शिखर नगरपालिका डोटीले संयुक्त रुपमा आयोजना गरेको हो ।
पाठेघर सम्बन्धि समस्या भएका ग्रामिण भेगका महिलाहरुलाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त शिविरमा माया मेट्रो हस्पिटल धनगढीको प्राविधिक सहकार्य रहेको छ । पाठेघर सम्बन्धि समस्या भएका महिला बिरामिहरुलाई वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर संगिता भण्डारी, डाक्टर विष्णुराज जैशी लगायतको टोलीले उपचार तथा परामर्श दिने आयोजकले जनाएको छ ।


आइतबार विहान आयोजना गरिएको औपचारीक उद्घाटन कार्यक्रममा अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायर सभापती रहनु भएको थियो भने नेपाली काँग्रेस डोटीका सभापती प्रदिप देउवा प्रमुख अतिथि रहनुभएको थियो ।
औपचारीक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि देउवाले बैदेशीक रोजगारमा रहेका युवाहरुले आफ्नो पसिनाको कमाईको केहि अंश सामाजिक क्षेत्रमा लगानी गरेकोप्रती खुसि व्यक्त गर्नु भयो । सुदूरपश्चिमका महिलाहरुमा कामको बोझ, सरसफाइको कमी, गरिवि लगायत धेरै कारणले आङ खस्ने तथा पाठेघर सम्बन्धि बढी समस्या देखिने गरेको बताउँदै देउवाले यसको समस्या समाधानका लागि आयोजना गरिएको शिविरबाट ग्रामिण भेगका महिलाहरुलाई ठुलो राहत मिल्ने आशा ब्यक्त गर्नुभयो । सुदूरपश्चिमेली नेपाली समाजले सामाजीक क्षेत्रमा काम गरेर राजनीति गर्ने व्यक्तिहरुलाई समेत पाठ सिकाएको बताउँदै भाषण गरेर मात्रै राजनीति गर्ने दिन गएको बताउनु भयो । राजनीति गर्ने ब्यक्तिहरुले राजनीति सँगै सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्ने उहाँको भनाई थियो ।


शिविरमा सामान्य समस्या रहेका बिरामीहरुको शिविरमै निःशुल्क उपचार हुने र गम्भिर समस्या देखिएका अथवा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएका बिरामीहरुलाई बाहिर लगेर निःशुल्क उपचार गर्ने सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायरले बताए । उनले भने,‘सुदूरपश्चिम प्रदेशका ग्रामिण भेगका महिलाहरुमा धेरैजसो पाठेघर सम्बिन्धि बिभिन्न समस्याहरु देखा पर्दछन् । उपचार खर्चको अभाव तथा लजाउने बानीले गर्दा कतिपय महिलाहरुले रोग लुकाउने गर्दछन् । त्यसै समस्याले महिलाको अकालमै ज्यान जाने गर्दछ । त्यसको निराकरणका लागि हामीले स्थानीय सरकार संग सहकार्य गरेर उक्त शिविर सञ्चालन गर्ने निर्णय गरेका हौं । बिरामीको उपचार निःशुल्क गरिने छ ।’


शिविर सुदूरपश्चिमको डोटी लगायत डडेल्धुरा र बाजुरा जिल्लामा समेत आयोजना हुने भएको छ । फागुन २६ र २७ गते शिखर नगरपालिकाको गोपघाट डोटीमा, फागुन २९ र ३० गते बाजुराको बुढिगंगा नगरपालिकामा, चैत्र २ गते डडेल्धुराको अजयमेरु गाउँपालिका र चैत्र ३ गते भागेश्वर गाउँपालिकामा शिविरको आयोजना हुने आयोजकले जनाएको छ ।


सुदूरपश्चिमेली नेपाली समाजले देशका लागि बिभिन्न समयमा बिभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । विश्वका बिभिन्न देशहरुमा कार्यरत सुदूरपश्चिमका नेपालीहरुले गठन गरेको उक्त समाजको शाखा विश्वका विभिन्न मुलुकमा बिस्तार गरिएको छ । अहिले उक्त समाजको शाखा कतार, युएइ, भारत, बहराइन, कुबेत, मलेसिया, जापान, कोरिया, डेनमार्क, अमेरिका, क्यान्डा, अस्ट्रेलिया, मकाउ, इजरायल र अफ्रिका लगायतका देशमा विस्तार गरिएको छ ।


शिविरमा प्राबिधिक सहकार्य गरिरहेको माया मेट्रो हस्पिटलले धनगढीबाट चौबिसै घण्टा आकस्मिक, ट्रमा र फार्मेसी सेवा दिदै आएको छ । यस बाहेक हस्पिटलले एनेस्थेसिया, क्रिटिकल उपचार सेवा, नवजात तथा बालरोग सेवा, दुरबिन तथा बिना दुरविन शल्य चिकित्सकिय सेवा, स्त्री प्रसुति तथा बाझोपन सेवा, हाड जार्नी तथा नशा रोग सेवा यौन छाला सौन्दर्यय तथा कपाल प्रत्यारोपण सेवा, दन्त चिकित्सकिय सेवा दिदै आएको हस्पिटलका लेखा प्रमुख तथा प्राविधिक व्यवस्थापक धर्म बहादुर बोगटीले बताउँनु भयो । उहाँका अनुसार धनगढीको चटकपुरमा अवस्थित उक्त हस्पिटलले क्यान्सर, इण्डोसकोपी, अल्ट्रासाउण्ड, इसिजि, आइसियू, पिआइसियु, ओपिडि, डिजिटल एक्स्रे, सिटि स्क्यान लगायतका सेवा पनि दिदै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...