‘नानी प्रत्यारोपण’को प्रचार गरेर सामान्य आँखा शिविर :- निःशुल्क शिविरमा नामदर्ता गर्न ५० रुपैयाँ

272

एनपिएल न्यूज
डोटी फागुन २३
आँखाको शल्यक्रिया गर्न भनी दिपायल पुगेका साफेबगर नगरपालिका–१४ अछामका मोहनसिँह सुनार बुधबार ‘मुर्मुरिदै’ थिए । डोटी चेम्बर अफ कमर्शद्वारा दिपायलमा जारी ‘प्रादेशिक महोत्सव’मा निशुल्क आँखाको शल्यक्रिया शिबिर चलेको खबर पाएपछि उनी दिपायल पुगेका थिए ।


‘पाँच÷छ महिनादेखी दाँया आँखामा समस्या छ । उता(अछाम) चेँकजाँच गर्दा शल्यक्रिया गर्नुपर्छ भनेका थिए,’ दिपायलमा भेटिएका उनले भने,‘यता शल्यक्रिया शिबिर चलेको सुनेपछि पुगे । यहाँ त सामान्य चेँकजाँच गरेर शल्यक्रिया गर्न धनगढी आउन भनेर फर्र्काए ।’ उनले यसलाई ‘धोका’ भएको आरोप लगाए । ‘शल्यक्रिया गर्छौ भनेर प्रचार सुनियो । यता त शल्यक्रिया नै रहेनछ । यत्तीको चेँकजाँच त अछाममै हुन्छ । शल्यक्रिया नगर्ने भए किन हल्लाखल्ला गर्ने ? जनतालाई यसरी धोका दिनु त भएन नि !’, उनले आक्रोश पोखे ।


दिपायल सिलगढी नगरपालिका–३ बाँफीका ८३ वर्षिय बृद्ध प्रताप साउँद दिपायलमै निशुल्क आँखाको उपचार हुने खबर पाएपछि दिपायल पुगे । डेढवर्षदेखी उनको आँखामा तुवालो लागेजस्तो हुन्छ । घाममा त केही देखिदैनथ्यो । ‘धनगढी जान पैसा थिएन,’ उनले भने,‘यतै निशुल्क उपचार हुने सुनेपछि आएको हु ।’ निशुल्क उपचार गर्न आएका उनी पाँचसय खर्च गरेर रित्तै हात फर्किए । ‘यता प्रबेश गर्न पचास रुपैयाँ र नामदर्ता अर्को पचास लियो । औषधि, चश्मा केही दिएन । दिपायल पुग्न यताउता उल्टो पाँचसय खर्च भयो,’ उनले दुखेसो पोखे ।
जारी प्रादेशिक महोत्सवमा ‘शल्यक्रिया सहितको निशुल्क आँखा शिबिर’को प्रचार सुनेका अधिकांश आँखाका बिरामीहरु परिक्षणपछि सुनार र साउँदजस्तै गुनासो पोख्छन् । ‘निशुल्क उपचार भनिएको छ । महोत्सवस्थल प्रबेश गर्न ५०, नामदर्ता गर्न थप ५० रुपैयाँ तिरेर मात्र चेँकजाँच हुन्छ,’ छोरीको आँखा उचार गर्न आएकी शिखर नगरपालिकाकी डम्बरी जोराले आईड्रप्स देखाउदै भनीन्,‘यो औषधि(आईड्रप्स)दिएर पठाए । यसको मूल्य ३०–३५ भन्दा बढी नहोला ।’


महोत्सवको प्रचार सामाग्रीमा आँखा जाँच, औषधिक वितरण, नजिकको चस्मा वितरण, आँखाको शल्यक्रिया तथा ३० वटा आँखाको नानी प्रत्यारोपण निशुल्क गरिने कुरा राखिएको छ । तर उल्लेखित सबै सेवाहरु नपाएको सेवाग्राहीहरुको गुनासो छ ।
महोत्सवस्थलमा सञ्चालित ‘आँखा शिविर’मा आँखा परीक्षण, केही औषधि र चस्मा वितरण भइरहेको छ । जसमा च्यारिटी हेल्थ फाउण्डेशनको सञ्चालनमा रहेको धनगढी नेत्रालयले प्राबिधिक सहयोग गरिरहेको फाउण्डेशनका कार्यक्रम संयोजक त्रैलोक्यनाथ पाण्डेले जानकारी दिए । उनले भने, ‘प्रचार सामाग्रीमा के छ भन्ने थाहा छैन् ? हामीले अहिले धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउण्डेशनबाट निशुल्क आँखा परिक्षण र चश्मा प्रदान गरिरहेका छौ ।’ औषधिको प्रायोजन एनएमबी बैंकले गरिरहेको छ ।
मोतिबिन्दु र आँखाको मासु पलाएको समस्या भेटिएका बिरामीको पछि दिपायलमै आएर निशुल्क शल्यक्रिया गर्न सकिने पाण्डेले बताए । ‘महोत्सवस्थलमा त्यो सम्भव हुदैन । पछि नजिकको कुनै अस्पतालको अप्रेशन कक्ष प्रयोग गरेर शल्यक्रिया गर्न सकिन्छ । यसविषयमा आयोजक(डोटी चेम्बर अफ कमर्श)संग खासै कुरा भएको छैन्,’ उनले भने,‘यदि उहाँहरुले नगरेपनि अर्को ब्यबस्था गरेर हामी आफै त्यो गर्न सक्छौ ।’ त्यस्ता समस्या भेटिएका बिरामीको फोन नम्बर लिईरहेको उनले बताए । ‘फोन नम्बर हामीले लिईरहेका छौ । बैशाखमा शिखर नगरपालिकामा त्यो शल्यक्रिया शिविर चल्दैछ । त्यहाँ बोलाएर पनि शल्यक्रिया गर्नसकिन्छ,’ उनले भने ।
आँखाको नानी प्रत्यारोपण भने धनगढीमा मात्रै सम्भव हुने कार्यक्रम अधिकृत बताए । उनले भने, ‘नानी प्र्रत्यारोपणका लागि धनगढी नै आउनुपर्छ । त्यो पनि सुदूरपश्चिममा डा. विद्याप्रसाद पन्तले मात्रै गर्नुहुन्छ ।’ यसका लागि च्यारिटी हेल्थ फाउण्डेशनले बार्षिक ३० जनाको निशुल्क व्यवस्था गरेको उनले बताए । ‘दाताको सहयोगमा व्यवस्था छ । तर यो सेवा अहिलेसम्म लिने भने भेटिएका छैनन्,’ उनले भने ।
नामदर्तामा लिईरहेको ५० रुपैयाँ आयोजकको नै निर्णय रहेको बताए । ‘धनगढी नेत्रालय र च्यारिटी हेल्थ फाउण्डेशनले दिने सम्पूर्ण सेवा निशुल्क हो । बाँकी आउनजान र खानबस्नको व्यबस्था उहाँहरुले गरिदिनुभएको छ । त्यो ५० रुपैयाँबारे उहाँलाई नै थाहा हुन्छ,’ कार्यक्रम संयोजक पाण्डेले भने ।
नामदर्तामा ५० रुपैयाँ लिईरहेको डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउँदले स्वीकारे । उनले भने, ‘त्यो ५० रुपैयाँले उहाँ(प्राविधिक)हरुको खानबस्न ब्यबस्था गर्न लिएका हौ ।’ आँखाको शल्यक्रिया र नानी प्रत्यारोपण शिविर भने चैत्र २–३ गते सञ्चालन हुने अध्यक्ष साउँदले दाबी गरे । ‘चैत्र २–३ गते त्यो शिविर दिपायलमै चल्छ ।’

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...