स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना समाप्त

80

एनपिएल न्युज असोज २४ : स्टार खेलाडी ग्यारेथ बेलको टिम वेल्सको विश्वकप खेल्ने सपना टुटेको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत सोमबार राति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गोल गर्दै रिपब्लिक अफ आयरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र आयरल्याण्डका लागि म्याकक्लिनकै गोल प्ले–अफमा स्थान बनाउन सहायक बन्यो भने वेल्सलाई त्यही गोलले छनौट चरणबाट बाहिरिन बाध्य पार्‍यो । यो खेल जितेको भए वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने मौका पाउने थियो ।

वेल्स बेल बिना खेलेको थियो । उनी चोटका कारण मैदान बाहिर थिए । वेल्स रहेको समूह ‘डी’ बाट शीर्ष स्थानमा रहेको सर्बियाले सोझै विश्वकपमा स्थान बनाएको छ । १९ अंक रहेको आयरल्याण्ड दोस्रो स्थानमा रहँदै प्ले–अफमा पुग्ने भएको छ । तर १७ अंक भएको क्रिस कोलेम्यानको टिम वेल्स भने बाहिरिएको छ । वेल्सलाई आयरल्याण्डसँगको खेलमा निकै महत्वपूर्ण थियो किनकी सर्बिया पराजित भएको र वेल्सले जितेको अवस्थामा उ सोझै विश्वकपका लागि छनौट हुन पनि सक्थ्यो । तर उ पराजित भयो र सर्बियाले पनि जित्यो ।

Loading...