बेल बिना पनि वेल्सले जित्यो, विश्वकपमा सोझै छनौट हुने सम्भावना कायम

69

एनपिएल न्युज असोज २१: वेल्सले विश्वकप फुटबलमा सोझै छनौट हुने सम्भावना कायम राखेको छ । समूह ‘डी’ अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्जियालाई १–० ले हराएर वेल्सले प्ले–अफ बिना नै विश्वकपमा छनौट हुने सम्भावना कायम राखेको हो । 

वेल्सको जितमा टम लरेन्सले ४९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लरेन्सले वेल्सबाट पहिलो गोल गरेका हुन् । जितपछि वेल्सको १७ अंक भएको छ । वेल्स स्टार खेलाडी ग्यारेथ बेल बिना नै खेलेको थियो । बेल चोटका कारण मैदान बाहिर थिए । तर बेल नभए पनि वेल्सले जित निकाल्दै विश्वकप यात्राको सम्भावना बलियो बनाएको हो । यस्तै अस्ट्रियासँग ३–२ ले पराजित भएको सर्बियाको १८ अंक छ ।

यो खेल जितेको भए सर्बियाले विश्वकपमा स्थान बनाउने पक्का हुने थियो । अर्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले माल्डोभालाई २–० ले हराएर विश्वकपमा छनौट हुने सम्भावना कायमै राखेको छ । आयरल्याण्डको जितमा दोस्रो र १९ औं मिनेटमा गरी दुवै गोल डेरिल मर्फीले गरे । आयरल्याण्डको १६ अंक भएको छ र उ समूहको तेस्रो स्थानमा छ । राति भएका अरु खेलमा समूह ‘आई’ मा रहेको आइसल्याण्डले टर्कीलाई ३–० ले हराएर विश्वकपमा छनौट हुने सम्भावना बलियो बनाएको छ । यस्तै युक्रेनले कोसोभोलाई २–० ले हरायो भने क्रोएसिया र फिनल्याण्डले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Loading...