पाठेघर सम्बन्धि समस्या भएका १३ सय १२ जना महिलाले स्वास्थ्य सेवा लिए

377

पवन महरा
डोटी १२ चैत्र
अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा १ हजार ३ सय १२ महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । सुदूरपश्चिमका डोटी, डडेल्धुरा र बाजुरा जिल्लामा छुट्टा–छुट्टै रुपमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।


फागुन २६ र २७ गते शिखनर नगरपालिका ८ गोपघाट स्थित शिखर पोलिक्लिनिकबाट शुरु गरिएको स्वास्थ्य शिविर फाल्गुन २९ र ३० गते बाजुराको बुढिगंगा नगरपालिकामा, चैत्र २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकामा र चैत्र ३ गते भागेश्वर गाउँपालिकामा आयोजना गरिएको थियो ।
अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजले स्थानीय निकाय संगको सहकार्यमा ग्रामिण भेगका महिलाहरुलाई मध्यनजर गर्दै सञ्चालन गरेको उक्त शिविरमा माया मेट्रो हस्पिटल धनगढीको प्राविधिक सहकार्य रहेको थियो ।
शिविरमा सहभागी महिलाहरु मध्य अधिकांसमा पाठेघर सम्बन्धि समस्या देखिएको उपचारमा संलग्न वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर संगिता भण्डारी बताउँनु भयो । डाक्टर भण्डारीका अनुसार शिविरमा १४ देखि ८२ बर्ष उमेर समुहका महिलाहरु सहभागी थिए । त्यस मध्य २० देखि ४० बर्ष उमेर समुहका महिलाहरुमा पाठेघर सम्बन्धि बढी समस्या देखिएको थियो । स्वास्थ्य सेवा लिने अधिकांस महिला विरामिहरुमा आंङ खस्ने, महिनाबारी गडपढी, सेतो पानी बग्ने, दम, मधुमेह जस्ता समस्या देखा परेकाछन् । शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डाक्टर संगिता भण्डारी, डाक्टर विष्णुराज जैशी लगायतको टोलीले उपचार तथा परामर्श दिएको थियो ।

२९ जना बिरामीको निःशुल्क शल्यक्रिया हुँदै

सामान्य समस्या रहेका बिरामीहरुको शिविरमै निःशुल्क उपचार गरिएको थियो भने गम्भिर समस्या देखिएका २९ जना बिरामी महिलाहरुको डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पतालमा निःशुल्क शल्यक्रिया भैरहेको छ । अन्तराष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायरका अनुसार डोटीका १४ जना, बाजुराका १२ जना र डडेल्धुराका ३ जना बिरामिहरुको पाठेघरको शल्यक्रिया भैरहेको छ । ति मध्य बाजुराकी एक जना महिलालाई धनगढी र डोटीकी एक जना महिलालाई थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय संगको सहकार्यमा बिरमिहरुको शल्यक्रिया भैरहेको अध्यक्ष बलायरले बताए ।
डोटीमा ३६४ जना महिलाहरुले निःशुल्क पाठेघर परिक्षण गरेका थिए । जसमध्य ३० जना महिलाको पाठेघरमा शिविर मै रिङ पेसरी राखिएको थियो भने १४ जना बिरामिको शल्यक्रिया भैरहेको छ । शिखर पोलिक्लिनिकमा दुइदिन सम्म सञ्चालन भएको शिविरमा १ सय २० महिलाहरुको पहिलो, १९ जना महिलाहरुको दोस्रो , १९ जना महिलाहरुको तेस्रो र ४ जना महिलाहरुको चौथा चरणको पाठेघर खसेको भेटीएको थियो ।


त्यस्तै बाजुराको बुढिगंगा नगरपालिकामा दुई दिन सम्म सञ्चालीत शिविरमा ७२० जना महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । जसमध्य १२ जना बिरामीको शल्यक्रिया भैरहेको छ । ६५ जना महिलाको पाठेघरमा शिविर मै रिङ पेसरी राखिएको थियो भने रिङ पेसरी राख्नु पर्ने १६ जना बिरामीले राख्न नमानेको बताइएको छ । फाल्गुन २९ र ३० गते सञ्चालन भएको शिविरमा १ सय ८० महिलाहरुको पहिलो, ५१ जना महिलाहरुको दोस्रो , ३५ जना महिलाहरुको तेस्रो र ३ जना महिलाहरुको चौथो चरणको पाठेघर खसेको भेटीएको थियो । उपचारमा संलग्न डाक्टरका अनुसार बाजुरामा अन्य दुई जना महिलामा गम्भिर समस्या देखिएको थियो । एक जनाको मलद्धार र योनि जोडिएको अवस्था देखियो भने अर्को महिलाको डिम्बाशयमा मासु पलायको भेटियो । उनिहरुमा देखिएको समस्या बारे गाउँपालिका, स्वास्थ्य चौकी तथा क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा जानकारी गराएको आयोजक समाजले जानाएको छ । बाजुरामा आयोजीत शिविरको व्यवस्थापन र ल्याब खर्च बुढीगंगा नगरपालिकाले गरेको र नगरपालिका अन्तरगतको टाँटे स्वास्थ्य चौकीले व्यवस्थापन गरेको बताउँदै आयोजक समाजका अध्यक्ष बलायरले आभार प्रकट गर्नु भयो । ‘हामीले ग्रामिण महिलाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेका थियौं बलायरले भने, ‘त्यहाँको नगरपालिका प्रमुख तथा स्वास्थ्य चौकी इन्चार्जले सहयोग गरेर ठुलो गुन लगाउँनु भएको छ । हार्दिक धन्यबाद संगै आभार प्रकट गर्दछु ।’
चैत्र २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकामा आयोजीत शिविरमा ११८ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । जसमध्य ७ जना बिरामिको पाठेघरमा रिङ पेसरी राखिएको थियो । उक्त शिविरमा ३८ महिलाहरुको पहिलो, ९ जना महिलाहरुको दोस्रो र २ जना महिलाहरुको तेस्रो चरणको पाठेघर खसेको भेटीएको थियो ।
चैत्र ३ गते डडेल्धुरा कै भागेश्वर गाउँपालिकामा आयोजीत शिविरमा १ सय २० जना महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । जसमध्य ३ जनाको शल्यक्रिया भैरहेको छ भने १३ जना बिरामिको पाठेघरमा रिङ पेसरी राखिएको थियो । रिङ पेसरी राख्नु पर्ने थप ६ जनाले राख्न नमानेको आयोजकले जनाएको छ । उक्त शिविरमा १० महिलाहरुको पहिलो, ११ जना महिलाहरुको दोस्रो र ७ जना महिलाहरुको तेस्रो र चरणको पाठेघर खसेको भेटीएको थियो । भागेश्वर गाउँपालिकामा आयोजित शिविरमा गाउँपालिकाले व्यवस्थापन खर्च व्यहोरेको थियो । आयोजक समाजले गाउँपालिकाका प्रमुख र गाउँपालिका अन्तरगतका स्वास्थ्य कर्मचारीहरुले शिविरमा अतुलनिय सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष बलायरले सुदूरपश्चिम प्रदेशका ग्रामिण भेगका महिलाहरुमा पाठेघर सम्बिन्धि बिभिन्नका समस्याहरु बिकराल रुपमा देखिएको बताउँनु भयो । स्यानो उमेरमा बिहे गरेका महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको बताउँदै बाल बिबाह रोक्न सबै निकायले पहल गर्नु पर्ने बताउँनु भयो । उपचार खर्चको अभाव तथा लजाउने बानीले गर्दा कतिपय महिलाहरुले रोग लुकाउने गर्दछन् उनले भने,‘त्यसै समस्याले महिलाको अकालमै ज्यान जाने गर्दछ । त्यसको निराकरणका लागि हामीले स्थानीय सरकार संग सहकार्य गरेर उक्त शिविर सञ्चालन गरेका हौं । जनचेतनाको कमिका कारण कतिपय बिरामि महिलाहरुले रिङ राख्न र शल्यक्रिया गर्न नमानेको उल्यख गर्दै अध्यक्ष बलायरले जनचेतना लगायत महिलाको स्वास्थ्य सम्बन्धि बिषेश जोड दिन सबै निकायलाई आग्रह समेत गर्नुभयो ।
सुदूरपश्चिमेली नेपाली समाजले देशका लागि बिभिन्न समयमा बिभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । विश्वका बिभिन्न देशहरुमा कार्यरत सुदूरपश्चिमका नेपालीहरुले गठन गरेको उक्त समाजको शाखा विश्वका विभिन्न मुलुकमा बिस्तार गरिएको छ । अहिले उक्त समाजको शाखा कतार, युएइ, भारत, बहराइन, कुबेत, मलेसिया, जापान, कोरिया, डेनमार्क, अमेरिका, क्यान्डा, अस्ट्रेलिया, मकाउ, इजरायल र अफ्रिका लगायतका देशमा विस्तार गरिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...