कमिशन मागेको आरोपमा कालोमोसो

871

पवन महरा
डोटी चैत्र १०
डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमूख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले पौडेललाई कालोमोसो दलेको जनाएको छ ।


कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले विद्यालय भवन निर्माण, मर्मत तथा शौचालय निर्माणमा कमिशन माग गरेको लगायतका विभिन्न ९ वटा आरोप लगाएका छन् । ओझाकै नेतृत्वमा गएको टोलीले कालोमोसो लगाएको हो ।
विज्ञेप्तीमा योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत कमिशन माग गरेको, विव्यसको अधिकारक्षेत्र भित्र रहेको करार शिक्षक नियूक्ती आफु मातहतमा ल्याएर ४ महिनासम्मको तलब लिदै शिक्षक नियूक्ती गर्ने गरेको, कमिशन रकम उठाउन श्रीमती चन्द्रमाया कोईराला र छोरा अरूण पौडेलको नाममा रहेको बैंकखाता विद्यालयका प्रधानाध्यापकहरुलाई बाँडेको लगायतका आरोपहरु लगाईएका छन् ।


‘म नै विव्यस अध्यक्ष रहेको विद्यालय(नमादेव आधारभूत विद्यालय आदर्श–२ साउँदकाँडा)मा निर्मित भवनमा कमिशन मागेपछि उनको यो हर्कतबारे जानकारी पाएको हुँ,’ नेविसंघका आमन्त्रित केन्द्रीय सदस्य ओझाले भने,‘पछि बुझ्दैजाँदा उनको हर्कतले पुरै शिक्षक र प्रधानाध्यापक त्रसित भएको भेटेपछि यो(कालोमोसो)को कदम उठाएका हौ ।’
उनका अनुसार नमादेव आधारभूत विद्यालयका लागि भवन मागगर्दा नै जिशिअ पौडेलले ‘हामीलाई पनि सम्झिए भवन पार्न सकिन्छ’ भनेका थिए । ‘त्यतिबेला भवन त पारौ भनेर कुटनीतिक पारामा मैले ‘हुन्छ’ भनेपछि मात्र गतआर्थिक वर्षमा १६ लाखको दुई कोठे भवन पारियो,’ ओझाले भने,‘त्यसपछि असारमा सम्पन्न भएको कामको कमिशन नपाएपछि अन्तिम मूल्यांकन प्रतिबेदन तयार पार्न प्राबिधिक पठाएका छैनन् ।’ यसक्रममा प्रधानाध्यापक कुलप्रसाद ओझा र आफुसंग पटक–पटक कमिशन माग गरेको उनले बताए ।


प्रेस विज्ञेप्तीसंगै ओझाले जिशिअ पौडेलले कमिशन जम्मा गर्न प्रधानाध्यापकलाई पठाएको मोवाईल म्यासेज र छोरा अरूण पौडेलको खाता नम्बरवाला चिट सार्वजनिक गरेका छन् । जिशिअ पौडेलले प्रयोग गरिरहेको अफिसियल नम्बर ९८५८४३५८९३ बाट प्रधानाध्यापक ओझालाई पठाएको मोवाईल म्यासेजमा श्रीमती चन्द्रमाया कोईरालाको कृषि बिकास बैंक घट्टाघर भक्तपुरमा रहेको खाता नम्बर ०२–१२३–००७५५–१८६–०१९ उल्लेख गरिएको छ । प्रधानाध्यापककै हातमा थमाईएको चिटमा छोरा अरूण पौडेलको नाममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर काठमाण्डौको १४२००७०१५१० खाता नम्बर उल्लेख छ । ‘यी खातामा पटक–पटक १० प्रतिशत जम्मा गर्न प्रधानाध्यापकलाई उर्दी जारी गरिरहे । पैसा जम्मा गरेपछिमात्र कार्यसम्पन्न मूल्यांकन प्रतिबेदन तयार हुने बताउदै आएका थिए,’ ओझाले भने ।

उता विद्यालयका प्रधानाध्यापक कुलप्रसाद ओझा भने खुलेर बोल्न सकेनन् । ‘तपाईले सबैकुरा बुझिसक्नुभयो मलाई अप्ठेरोमा नपार्नुस,’ उनले भने । यद्यपी त्यो मोवाईल म्यासेज भने आफ्नो नम्बरमा आएको स्वीकार गरे । प्राबिधिकहरुले पटक–पटक कमिशन माग गरेको कुरा पनि उनले स्वीकारे । ‘अफिसमा, बजारमा जता भेटिदा पनि प्राबिधिकले मागेका हुन्, मैले दिएन,’ उनले भने,‘केही माग्नुछ भने विव्यस अध्यक्षसंग माग्नुस भनेको हुँ ।’ त्यसक्रममा कहिल्यै दुईलाख, कहिल्यै डेढलाख माग्नेगरेको उनले सुनाए ।
यसविषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

पछिल्लो समय जिल्लामा भ्रष्टाचार तथा अनियमितताका घटना बढ्दै गएको प्रती नेवि संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै नेवि संघका क्षेत्रीय सभापती रोशन कठायतले अब उपरान्त गलत गर्नेलाइ प्रशासनले कार्वाही नगरे नेवि संघले यसै गरि कार्वाही गर्ने चेतावनी दिए ।
प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए । साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए ।
जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनीबाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...