प्रधानमन्त्री ‘प्राचीन कम्यूनिष्ट’ – केन्द्रिय सदस्य पौडेल

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले प्रधानमन्त्रीको सरकार सञ्चालन प्रक्रिया, गतिविधि र लागु गर्न खोजेका ऐनकानुनको विश्लेषण हेर्दा प्राचीन कम्यूनिष्टको झल्को देखिन थालेको दाबी गरे । ‘हामीले नाममात्र कम्यूनिष्ट भएपनि नेपाली परिवेशमा लोकतन्त्र स्वीकारेको शक्तीका रुपमा बुझेका थियौ । जनताले पनि त्यही बुझेर मतदान गरे,’ उनले भने,‘तर होईन रहेछ ! सबै अवस्था हेर्दा प्राचीन कम्यूनिष्टको झल्को देखिन थालेको छ ।’ प्रधानमन्त्रीको शक्तिको मोह, सरकारी नियन्त्रण कायम गर्नेगरी आईरहेका मिडिया काउन्सील, आमसञ्चार, गुठी, मानवअधिकार लगायतका विधेयकहरुमा प्राचीन कम्यूनिष्ट शासनको गन्ध झल्किरहेको उनको भनाई छ । ‘वर्तमान सरकारले सबै शक्तिहरु मुठ्ठीमा राखेर राज्यका सबै अंगहरुमा नियन्त्रण राख्न खोजेको प्रष्ट छ । जुन तानाशाही राज्यव्यवस्थामा हुन्छ । विश्व ईतिहासका प्राचीन कम्यूनिष्टहरु यस्तै भएका उदाहरण छन्,’ उनले थपे ।
वर्तमान सरकार ईतिहासकै सबैभन्दा भ्रष्ट रहेको नेता पौडेलले आरोप लगाए । ‘वाईडबडी, सुनकाण्ड, मेलम्ची लगायतमा प्रष्ट भईसकेको छ, यो सरकार कति भ्रष्ट छ भन्ने,’ उनले अगाडी भने,‘यसबाहेक ठुला योजना ठेक्का प्रक्रियाबिनै निर्माण गर्नेगरी विधेयक ल्याउने तयारी भईरहेको छ । जुन नीतिगत भ्रष्टाचार निम्त्याउने रणनीति हो ।’
सरकार संविधानप्रति उत्तरदायी नभएको पनि उनले दाबी गरे । उनले भने, ‘हाम्रो राज्यव्यबस्था संविधानको सर्वोच्चताभएको व्यवस्था हो । तर, सरकारले संविधानको धज्जी उडाउनेगरी व्यवहार गरिरहेको छ ।’ सरकार लोकतान्त्रिक राज्यव्यवस्थाप्रति जनतामा घृणा जगाउन उद्दत रहेको पनि उनले विश्लेषण गरे । ‘यो राज्यव्यवस्थाप्रति घृणा जगाएर आफ्नो अभिष्ट पुरा गर्ने दाउमा सरकार छ । यसप्रति सबै जनता सचेत रहन आग्रह गर्छु’, उनले भने । कांग्रेस अब एकिकृत भएर सरकारका गलत प्रबृत्तिका बिरुद्ध जुट्ने पनि उनले बताए ।