निलुवा डाँडा: पवित्रा सुनार

190

‘निलुवा डाँडा’ 

रानीवनमा न्याउली अनवरत रोइरहेछ
मेरी आमाको बेदनामा होकि ?
निलुवा डाँडा त्यसरी नै रोइरहेछ
मेरै आमाको बियोगमा हो कि ?
निश्कपट थिइन आमा
निश्कपट थियो निलुवा डाँडा
निश्कपटता यी दुइको समानता हो
हजारौं बर्ष घामपानी , बादल बर्षा
खेप्नुमा डाँडा आफ्नो अस्तित्व देखिरहेछ
जसरी आमा अन्यायका चांगभित्रै
जीवनको अस्तित्व ठान्छिन्
कठिनाईहरु आमाको सहयात्री हुन्
पीडा आमाको स्मृति पुस्तक हो
सानो खुशीको पर्खाइमा
आधा युग नै बितेको छ
यही जिन्दगीमा
एकदिन सपना भेट्न आउनेछ
भन्ज्याड.हरु छिचोलेर
बिहानी उदाउनेछ
अँधेरीहरु चिरेर
नियतिले आमाको खुशी कुल्चेपछि
आमासंगै निलुवा रोइरहेको हो
आमा निलुवालाई पीडाहरु सुनाउँथिन्
निलुवा आमाको पीडा सुन्थ्यो
आमाको कठोर संघर्षहरुको
साँच्ची हो निलुवा डाँडा
आमाको बगेका आँसुहरुको
कहाली लाग्दा भोगाइहकरुको
साँक्षी हो निलुवा डाँडा
आमाले कम्ती यातना खेपेकी हुन् र ?
कहिले असल आमा बन्ने नाममा
कहिले शालिन स्वास्नीमान्छे बन्ने नाममा
आफ्नै उमेर भन्दा धेरै
पीडाका लस्करहरु खेपेकी हुन्
यो कठोर ब्यबस्थाले
यी कुरुप मान्छेहरुले
दिएको हो आमालाई पीडा

आफ्नै जीवन भन्दा जेठाे अन्याय
चुपचाप सहेकी हुन्
अामाको स्वाभिमानको खाँतिर
आधा शताब्दी संगै पर्खेको हो
निलुवा डाँडा पनि
आफु जस्तै मान्छेको जिन्दगीमा
स्वतन्त्रता चाहान्छ निलुवा डाँडा
आफु जस्तै अस्तित्वमा
स्वाभिमान चाहान्छ निलुवा डाँडा
उसको छातिमा उडेर आउने
माल चरा जस्तै
तर डाँडाले अर्कै नियति देखेको छ
मेरी आमाको जिन्दगीमा
चराको जस्तो स्वतन्त्रताको दिन
पर्खिँदा पर्खिंदै युगौं बितेको छ
आँसुको यात्रासंगै
ब्वाँसाेहरुले फेरी नडग्रा गाडेपछि
आमा यो युगमा उठ्नै नसक्ने गरी
ढलेकी छन् !
यो ब्यबस्थाभित्र
आमाको कहाली लाग्दो जिन्दगी देखेर
मेरो मनमा तुफान चलेको छ
यही रुखो ब्यबस्थाले
युगौदेखि कुल्चेको हो आमालाई
मलाई स्वीकार छैन
यी अन्यायरुपी जीवनयात्रा
मलाई स्वीकार छैन
आँखै अघि उभिएको
त्यो अन्यायको इतिहास
म आमाको मुक्तिको खाँतिर
मन मनै दरिलो बिश्वास लिएर
यही युगमै उठ्दैछु
आउ निलुवा डाँडा!
आउ मेरी आमा ,
फेरी मुक्तिको गीत गाउँ !!

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...