माथिल्लो मर्स्याङ्दी ‘ए’बाट पूर्ण उत्पादन शुरू

100

एनपिएल न्यूज- पुस १०, लमजुङ । उत्तरी लमजुङको भुलभुलमा निर्माण भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । यो आयोजना चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको हो । आयोजनाले गत कात्तिकदेखि २५ मेगावाट विद्युत् आपूर्ति गर्दै आएको थियो ।

आयोजनाले गत शुक्रवारदेखि थप २५ मेगावाट उत्पादन बढाएर पूर्ण उत्पादन थालेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनले भने, ‘अबको १ साताभित्र आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको ‘मिटरिङ युनिट’मा जडान गरिने छ ।’

आयोजनामा २५ मेगावाट क्षमताका दुईओटा टर्वाइन जडान गरिएका छन् । यसअघि युनिट नं. १ बाट विद्युत् उत्पादन थालिएकोमा शुक्रवारदेखि युनिट नं. २ बाट पनि विद्युत् उत्पादन थालिएको हो । आयोजनाको दुवै टर्वाइनबाट गरेर अहिले ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

प्राधिकरणको निर्देशनअनुसार विद्युत् उत्पादन थपघट भइराख्ने अधिकृत अधिकारीले जानकारी दिए । आयोजनाले आप्mनै लगानीमा ट्रान्समिशन लाइन निर्माण गरेको थियो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको दमौली प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले सुक्खायाममा अर्थात् पुसदेखि चैतसम्ममा ५ करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी १ वर्षमा कुल ३१ करोड ७६ लाख युनिट विद्युत् उत्पादन गर्ने बताएको छ ।

आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत गरी कुल रू. १६ अर्ब लगानी रहेको छ । रन अफ दि रिभर प्रविधिमा निर्माण भएको आयोजनाको सुरुङ ५ दशमलव २ किलोमिटर लामो रहेको छ । लमजुङमा हालसम्म बनेका सबै जलविद्युत् आयोजना यही प्रविधिअनुसार नै निर्माण भएका हुन् । आयोजनाको बाँधक्षेत्र ९ सय ५ मिटर उचाइमा छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...