त्रिशूलीमा बस दुर्घटना : ८ जनाको शव भेटियो, १५ जनाको उद्धार, ३० भन्दा बढी हराएको अनुमान

73

एनपिएल न्युज धादिङ, कात्तिक ११ (अपडेट) :धादिङको गजुरी नजिकबाटै त्रिशूली नदीमा खसेको बसबाट ८ जनाको शव निकालिएको छ । अहिलेसम्म एक बालक, ५ जना पुरुष र दुई महिलाको शव निकालिएको प्रहरीले जनाएको छ ।

उनीहरुको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय गजुरी प्रहरीले जनाएको छ । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४ ६७ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट त्रिशूलीमा खसेको हो ।

प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् । बस नदीमा खस्दा घाइते भएका १५ जनाको उद्धार गरिएको छ । ५५ जनाले टिकट काटेर चढेकाले अझै कम्तिमा ३२ जना हराइरहेको आशंकामा खोज तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने दुईजनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।

Loading...