बिर्तामोड अपडेट : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १० घाइते ( तस्बिर सहित )

73

एनपिएल न्युज काठमाडौं, कात्तिक १० : झापाको बिर्तामोडमा बालकका हत्यारालाई कारवाही गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । गोली लागेर अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।गोली लागेर घाइते भएका थापाको उपचारका क्रममा मेची अञ्चलमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीको गोली लागेर १० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको मेची अञ्चल अस्पताल र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  प्रशासनले लगाएको कफ्र्यू तोडेर स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शन नियन्त्रण गर्न नसकेपछि प्रशासनले बिर्तामोडमा कफ्र्यू जारी गरेको छ ।


जिल्ला प्रशासन कार्यालय झापाले मुक्तिचोकको आसपास दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू जारी गरेको हो । अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि तनाव भएको हो ।

झापा को बिर्तामोड स्थित आक्रोशित स्थानियले तोडफोड गरेको गाडी हरु फोटो : सामजिक संजालको सहयोगमा

लक्ष्मणको हत्या भएको एक महिना बित्नै लाग्दा पनि प्रशासनले हत्यारालाई पक्रिन नसकेको भन्दै परिवार, आफन्त र स्थानीयबासिन्दाले बिर्तामोड बजार बन्द गराएर निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गामुढा भएको थियो । त्यसपछि प्रदर्शन र तोडफोड भएकाले कफ्र्यु लगाउनु परेको प्रशासनले जनाएको छ । गएको असोज १४ गते विदेशबाट बुवाले पठाइदिएको जुत्ता लिन बिर्तामोड–५, पाथीभरा टोलमा गएका लक्ष्मणको शव त्यसको भोलिपल्ट भेटिएको थियो । मृतकका आफन्त र स्थानीयबासिन्दाले हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् ।

(झापा स्थित बिर्तामोडमा आक्रोशित स्थानिय द्वारा तोडफोड गरिएका सवारी साधन हरु )

फोटो : सामाजिक संजालको सहयोगमा

Loading...