कफिको चुस्कीमा गजल:तिमी पारी म वारी दुख्छ जिन्दगानी,ख्याल गर यत्तिकैमा सुक्छ जिन्दगानी।।

105

लेखराम सापकोटा/ गैंडाकोट कात्तिक २४ : नवलपरासी क्षेत्रको लोकप्रिय गजल कार्यक्रम कफी र काफियाको ५ औं शृङ्खलामा यसपटक गजलकार रमेश प्रभात र टिकादेवी सापकोटा पोखरेल प्रस्तुत भए।  गैंडाकोट स्थित एसपिएम कलेजको हलमा आयोजित कार्यक्रममा प्रस्तुत भएका दुबैजनाले ९/९ गरि अठार गजल वाचन गरे

उज्यालै उज्यालो म देख्दैछु
आज उज्यालो धरामा टेक्दैछु आज ।।

चितवनका पहिलो चरणका गजलकार रमेश प्रभातले सुनाएका धेरै गजल आशावादी थिए । प्रेम र जीवनलाई सम्बोधन गरेर लेखेका गजल पनि उनले सुनाए । यसै शृङ्खलाकी अर्कि पाहुना नवलपरासीकी गजलकार टिकादेवी सापकोटाले पनि रमेश प्रभात सँगै गजल सुनाइन् ।

तिमी पारी म वारी दुख्छ जिन्दगानी
ख्याल गर यत्तिकैमा सुक्छ जिन्दगानी ।।

प्रेम, दर्शन, राजनीति र समसामयिकता उनका गजलमा समेटिएका थिए । स्थानीय गायक निर्दोष जीवननले टिकादेवी सापकोटाको `तिमी आगो हौ… गजल गाएर माहोललाई अझै रमाइलो बनाए ।

शुक्रबार साँझ सिर्जन साहित्य प्रतिष्ठानले आयोजना गरेको युगल गजल वाचन कार्यक्रममा गजल सुन्न पाका देखी नयाँ पुस्तासम्म उपस्थित भएका थिए । अग्रज स्रस्टा प्रेमविनोद नन्दनले कफी र काफिया गजल साहित्यमा नयाँ प्रयोग भएको बताए ।

कार्यक्रममा गोविन्दराज बिनोदी,सुरेन्द्र अस्तफल, लेखराम सापकोटा, महेन्द्रभक्त अधिकारी, डा. कृष्ण पौडेल, दीपेन्द्र पौडेल, सरोज उजाड, बिष्णुप्रसाद वाग्ले, तितेपाती, उदयनाथ रेग्मी, सन्जय भट्टराई, विमर्श कँडेल, प्रकृती प्रेमी, रोशन लामिछाने लगायतको उपस्थिति रहेकोे थियो । नवलपरासीमा मासिक रूपमा गरिंदै आएको कफी र काफियाको आगामी शृङ्खलालाई गायन विशेष बनाउन लागिएको आयोजक संस्था सिर्जन साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।

Loading...