निस्वार्थ जनताको हितका लागि काम गर्दैछौं : उप-प्रमुख रावल

परिवर्तीत संरचनामा नौ वटा गाविसहरु मिलाएर वनाईएको नगरपालिका हो–शिखर । सडक तथा विद्युत जस्ता अनिवार्य पूर्वाधार बिनै नगरपालिका वनाईएको भन्दै शुरुमा विरोधका आवाज पनि सुनिए । अहिले भने नगरपालिकाले तीब्रतर रुपमा आफ्ना कामहरु अगाडी बढाईरहेको छ । साथै योजनावद्ध रुपमा अघिपनि बढीरहेको छ । नगरपालिकाका उप-प्रमुख धालीदेवी रावलसंग एनपिएल न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।

परिवर्तीत संरचनाको स्थानीय सरकारको पहिलो उप-प्रमुख भएर काम गर्दैहुनुहुन्छ । कस्तो छ यहाँको अनुभव ?

म आफैमा एउटा साधारण परिवारको मान्छे हुँ । एउटा महिला कृषक पनि हुँ । मेरो पहिलो प्राथमिकता भनेकै गरिव निमुखा र महिलाहरु हुँन् । मलाई जनताले विश्वास गरेर नगरपालिको जिम्मेबारी दिएको छ । म आफ्नो जिम्मेबारीमा कटिबद्ध छु ।अहिलेको परिपेक्ष्यमा नयाँ संरचनामा नगर स्थापित गर्नु चुनौती छ । नयाँ नगरपालिका हो, भने अनुसारको स्रोत र अधिकार संघ तथा प्रदेश सरकारले दिएका छैनन् । यति हुँदाहुँदैपनि नगरपालिकालाई विकास र समृद्धीको बाटोमा अघि बढाउने अवसरका रुपमा लिदै अघि बढीरहेका छौ ।

नगरपालिका बनाईदा पुर्वाधार बिहिन विद्युत, सडक, खानेपानी शहर केही नभएको क्षेत्रलाई समेटेर नगरपालिका बनाईयो भन्ने आरोप थियो । कसरी बनाउदै हुनुहुन्छ त्यस्तो क्षेत्रलाई नगर ?

अवश्य पनि अवस्था त्यही थियो र छ पनि । त्यसलाई हामीले चुनौती दिदै राम्रो नगर बनाउने अभियानमा छौ । विद्युत नपुगेका सबैजसो क्षेत्रमा पुग्ने क्रममा छ । विपन्नलाई मिटर दिएर, पोल दिएर हामी विद्युत पु¥याउने अभियानमा छौ । सबै टोलमा सडक पुगाउने र त्यसको स्तरोन्नती गर्दै कालोपत्रेसम्म गर्ने हाम्रो योजना छ । पूर्वाधारको हकमा नगरपालिकाले जमिन लिएर पूर्वाधार बनाउने अभियान तीब्र गतीमा चलेको तपाईले देख्नुभएकै छ । हामी यी सबैखाले चुनौतीको सामना गर्दै समृद्ध नगर बनाउने अभियानमा तीब्रतर अगाडी बढेका छौ ।

शिखर नगरपालिकाको पहिलो नगरसरकारको उपप्रमुखले परिकल्पना गरेको नगरपालिका कस्तो छ ?

हामी सुनको खानीभित्र रहेका गरिबहरु हौ । भुगोल, प्रकृती र हाम्रा पुर्खाहरुले हामीलाई अनमोल उपहारहरु सुम्पिएका छन् । तीनको समुचित प्रयोग गरेर अघि बढ्न नसक्दा हामीलाई गरिबीले च्यापेको छ । हाम्रो जीवनस्तर उम्कन सकेको छैन्, हाम्रो चेतनाकोस्तर दयनिय छ । यी यावत कुराहरुलाई मध्येनजर गर्दै मैले एक समुन्नत शिखरनगरपालिकाको परिकल्पना गरेको छु । जसमा संस्कृती तथा चेतनाले सुसज्जीत र उच्च जीवनस्तर सहितको समाज निर्माण गर्ने । जसका लागि हामी योजनावद्ध रुपमा अघि बढ्दैछौ ।

नगरपालिकाले हालसम्म चारवटा नगरँसभा र दुईवटा बजेटहरु कार्यान्वयन गरिसक्यो । त्यसमा तपाईको परिकल्पनालाइ सम्बोधन गर्ने योजनाहरु कसरी समेट्नुभएको छ ?

हामीले तय गरेको यात्रा प्रष्ट छ । हामी यसको प्रारम्भीक जग बसाउने अभियानमा छौ । नयाँ नगरपालिका हो, नगरको प्रारुप तयार पार्नेगरी योजना अघि सारिरहेका छौ । कार्यालयलाई व्यवस्थित बनाउन भौतिक निर्माणका कामहरु गरिरहेका छौ । यसबाहेक नगर क्षेत्रका सडकहरु स्तरोन्नती गर्दैछौ । सामाजिक विकासका क्षेत्रहरु शिक्षा तथा स्वास्थ्यका समस्याहरुलाई सम्बोधन गर्नेगरी योजना अगाडी बढाएका छौ । मुलतः नगरपालिकाको आन्तरिक आम्दानी बढाउन आन्तरिक स्रोत पहिचान गर्दै त्यसको समुचित प्रयोगका अभियान थालेका छौ । नागरिकको आम्दानी बढाउन कृषि तथा उद्यमशिलता विकासमा यथेष्ट योजना बनाई कायान्वयन भएका छन् । पर्यटन प्रवद्र्धनका लागि अभियानको शुरुवात गरेका छौ । कला, संस्कृतीको संरक्षण तथा सम्वद्र्धनका अभियानहरु थालेका छौ । यसले यहाँको अर्थतन्त्र मजबुत पार्दै जनसमुदायको जीवनस्तर उठाउन मद्दत गर्नेछ भन्ने अपेक्षा छ ।

बाँकी कार्यकालमा कस्ता योजनाहरुले प्राथमिकता पाउछन त ?

पहिलो कुरा हाम्रो उद्देश्य भनेको आन्तरिक अर्थतन्त्रले सबल नगर बनाउने हो । जसले नागरिकका ईच्छा चाहना मजबुत बनाउने र एक समृद्ध नगर बनाउने योजनाहरु बनाउन सकियोस् । यसका लागि पहिलो प्राकृतिक स्रोत साधनहरुको समुचित प्रयोगका लागि बिशेष पहल हुन्छ । त्यसपछि सामुहिक कृषिप्रणाली अवलम्वन गर्दै आधुनिकता प्रदान गरेर खुशी र सम्पन्न नागरिक बनाउने योजनाहरु बनाउछौ । अर्को हामी लोकसंस्कृती तथा प्रकृतीका धनी छौ । जसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नसके राम्रो पर्यटन गन्तब्य बनाउन सकिन्छ । यसलाई ध्यानमा राखेर महत्वका साथ योजना अघि सार्छौ । यी दुईकुरामा हामी उद्यमशिलता प्रवद्र्धनका योजना निर्माणमा ध्यान दिन्छौ । बाँकी भनेको भौतिक पूर्वाधारले सम्पन्न नगर बनाउने हाम्रो बिशेष जोड रहन्छ ।

अहिले सुशासनको सवाल देशव्यापी चर्चामा छ । स्थानीय तहमा चरम भ्रष्टाचार भएको जनप्रतिनिधिले ब्रम्हलुट गरिरहेको चर्चा छ । तपाईका तिर के छ ?

हामी जुन दिन राजनीतिमा लाग्यौ । त्या दिन देखी नै निस्वार्थ जनताको हितका लागि काम गर्दै हिँडेका मान्छे हौ । अर्को हामी लोकतन्त्रका खातिर संघर्ष गरेका मान्छे पनि हौ । जहाँ लोकको भलो हुन्न, जहाँ सुशासन हुन्न त्यहाँ लोकतन्त्र प्रत्याभुत हुन्न र जीवित पनि रहन्न भन्ने कुरामा क्लियर छौ । तसर्थ जनताको धनसम्पत्तीको सही सदुपयोग र त्यसको संरक्षणले मात्र हामी सबैको भलो हुन्छ भन्ने बुझेका छौ । सोही अनुसार अघि बढीपनि रहेका छौ । म दावा साथ भन्छु हाम्रो रकम अनावश्यक क्षेत्रमा खर्च भएको छैन । मैले भन्नुभन्दा पनि जनताले यो कुरा बुझेका छन् ।

 अन्तमा केही भन्नु छ ?

हामी नगरपालिकाको विकासको जग बसाउने क्रममा छौ । पूर्वाधार बिहिन अवस्थाबाट माथि उठाउदै विकासको गतीलाई बढाउने पाईलातर्फ अग्रसर भईरहदा सबैको उत्तीकै साथ जरुरी छ । हाम्रो विकासको खाँका हामी सबै मिलेर कोर्नुपर्छ । यसमा सबैको साथ सहयोगको अपेक्षा गर्दछु । धन्यबाद !