डिजिटल नगरपालिका

तलकोट– शिखर नगरपालिकाबारे केही जानकारी लिनुछ ? यदि छ भने, धेरै चिन्ता लिनुपर्दैन् । तपाईसंग ‘ईन्टरनेट’ सुविधा र ‘एन्ड्रोइड’ मोवाईल भए पुग्छ । ‘प्ले स्टोर’ मा गएर शिखर नगरपालिकाको ‘मोवाईल एप’ डाउनलोड गरी ‘ईन्स्टल’ गरेर सबै जानकारी लिन सकिन्छ ।


नगरपालिकालाई सूचना र प्रबिधिमैत्री बनाउन नगरपालिकाले छ महिनादेखी मोवाईल एप ‘लञ्च’ गरेको छ । नगरपालिकाबारे देशबिदेशमा बसेर जानकारी लिन सहज होस भनेर मोवाईल एप्स शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताए । ‘पूर्ण लोकतन्त्र प्रत्याभूत गर्नु नै हाम्रो उद्देश्य हो,’ उनले भने,‘यसका लागि नगरपालिकालाई सूचनामैत्री बनाउनुर्छ भन्ने हाम्रो बुझाई हो । सूचनालाई झन प्रबिधिमैत्री बनाउन मोवाईल एप शुरु गरेका हौ ।’ सो एपबाट नागरिकहरुले नगरपालिकाबारे पूर्ण जानकारी लिनसक्ने उनले बताए ।
उक्त एपभित्र नगरपालिकाको परिचय र जनप्रतिनिधीहरुको नामावली, नगरपालिकाले दिने सेवाहरु, नगरपालिकाको बजेट तथा कार्यक्रम, नगरपालिकाका क्रियाकलापहरु, विभिन्न सूचना तथा जानकारी, वडाहरुको विवरण, नगरपालिकाको नक्शा, नगरपालिका भित्रका महत्वपूर्ण स्थानहरु तथा आपतकालीन सम्पर्क नम्बरहरु राखिएको छ ।
एपलाई दोहोरो एकोहोरो सूचना प्रबाहमात्र नभई दोहोरो संबाद हुने प्रणाली पनि राखिएको नगरपालिका प्रमुख धर्मराज विनाडीले बताए । उनले भने,‘हामीले एपमा दोहोरो संबाद गर्नसक्ने व्यबस्था पनि राखेका छौ । जनताका जिज्ञासा, गुनासा र सुझावहरु लिनका लागि प्रणाली पनि त्यसमा उपलब्ध छ ।’ जसमा सर्वसाधारण सबैले समस्या दर्ता गर्न पाउने सुबिधा पनि राखिएको छ ।
नगरपालिकाले सूचना प्रविधि विभागको सहकार्यमा मोवाईल एप निर्माण गरेको हो । यस अघि नगरपालिकाले आफ्नै वेबसाइट निर्माण गरेर नगरपालिकाका हरेक गतिबिधि राख्ने गरेको थियो । अहिले वेबसाइटमा राखिएका सम्पुर्ण दस्तावेजहरु मोवाईलमा सहज रुपमा एपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

यो संगै नगरपालिकामा ई हाँजिरि, सिसि क्यामेरा, डिजिटल सुचना पाटी जोडिएको छ । नगरपालिकाले आफ्नो वइबसाइड मार्फत पनि सुचना सम्प्रेसन गर्दै आएको छ । नगरपालिकाका गतिबिधिबारे सहजै सुचना लिन सकिन्छ ।