सालमुनी, भागेश्वर र सेतीका छालहरू

कैलाली डडेल्धुरा हुँदै डोटी जाने क्रममा दिपायल पुग्नुभन्दा करिव ७ कि.मि. वरै सडकभन्दा माथि देखिन्छ टलक्क टल्किरहेको सानो चिटिक्क परेको मन्दिर । मन्दिरको मुन्तिर कालोपत्रे सडक छ । सडक छेउबाटै सुरु भएको छ मन्दिरसम्म पुग्ने सिंढी । सालमुनी देवताका नामले चिनिने उक्त मन्दिर सुदूरपश्चिमकै चर्चित मन्दिर हो । उक्त मन्दिरबाट करिब दुईसय मिटर अगाडि गएपछि देखिन्छन् अरु दुईवटा मन्दिरहरू । जुन एउटा कपडेउती र अर्को भागेश्वरको नामले चिनिन्छन् । तल आफ्नै गतिमा रातदिन सुसाइरहेकी हुन्छिन सेती नदी । दिनहँुँजसो कम्तिमा पनि पचास वटा बोकाको बलि चढाइने यस मन्दिरका पुजारी छन् डोटीकै भाँण अर्थात गन्धर्व जाती ।


जातीय छुवाछुतले निकै नै गाँजिएको छ सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको समाज । यो बिषयमा केही बढी चर्चामा आएको छ मध्य तथा सुदूरपश्चिम । सुरुका दिनहरूमा निकै नै भेदभाव गरिन्थ्यो दलितहरूलाई । सुरुका दिनमा दलितलाई छोइएको छ भने छोइछिटो नहाली घरभित्र पस्न दिइँदैनथ्यो । गोरसको नाममा दूधको चियासम्म पनि दिइँदैन थियो । पछिल्ला दिनहरूमा केही सुधार भए तापनि यो समस्या पूर्णरुपेण निर्मूल हुन अझै वर्षौ कुर्नु पर्ने देखिन्छ । यहाँ दलित भएकाहरू भित्रै पनि चर्को ढंगले देखापर्छ छुवाछुतको अवस्था ।
ती दलित भनिएकाभित्र हेर्दा गन्धर्व अर्थात सुदूरपश्चिममा भाँण भनेर चिनिएको जातीले छोएको पानी मलितले त चलाएका थिएनन् नै अन्य दलित भनिएकाहरूले पनि चलाएका थिएनन् र छैनन् पनि । तिनै गन्धर्वहरूको बारेमा अध्ययन गर्दे जाँदा डोटी जिल्लाको कालागाढ नजिकै अवस्थित शक्तिशाली देवताका रुपमा चिनिने सालमुनीको मन्दिरमा भेटिन्छन् गन्धर्व परिवारकै एक जना पुजारी लहरी दाश । सालमुनीको बारेमा बुझ्नेक्रममा भेटिएका थिए कतिपय जानकारहरू । त्यहाँका स्थानीय ब्यापारी बासुदेव जोशी भन्छन् – ‘सालमुनी यो क्षेत्रकै प्रशिद्धि कमाएका देवता हुन् । पहिले पहिले सालमुनी नजिक पुग्दा यात्रुहरू जुत्ता फुकालेर हातमा बोकी हिँड्थे । सालमुनीको क्षेत्र पार गरिसकेपछि मात्र खुट्टामा जुत्ता लगाउँथे । मनोकामना पूर्णहोस् भनेर कैयौंले भाकल गर्छन् सालमुनीलाई ।’


सालमुनीमा दिनहँु एक डेढ सय बोकाको बलि दिइन्छ । त्यो त मन्दिरमै ल्याइएका बोकाको संख्या हो । गाउँगाउँबाट दिशा लगाएर सालमुनीमा कति बोका काटिए त्यो संख्या एकिन गर्न सकिँदैन । दिशा लाउनु भनेको टाढाबाट सालमुनी मन्दिर देखिने वा मन्दिर रहेको डाँडो देखिने ठाउँनेर गएर सालमुनीका नाममा बोका काट्नु हो । डोटी जिल्लाका प्रत्येक गाउँमा छन् सालमुनी दिशा लाउने ठाउँ । यसरी सालमुनीका नाममा काटिएको बोकाको मासु खाँदा नून पुगेन, राम्ररी पाकेको छैन जस्तो केही गुनासो गर्न पाइँदैन भन्ने मान्यता छ । मीठो मानेर तारिफ गरेर खानु पर्ने त्यसो नहुँदा देउता खुसी नहुने र पुनः बलि दिनु पर्ने भन्ने मान्यता रहेको छ । सुरुमा मन्नो पार्कीले पुज्थे सालमुनी । उनका सन्तति नहुँदा उनको मृत्यपश्चात गन्धर्वहरूले आअफ्नै ढंगले पुजा गर्न थालेछन् । कहिलेकाही दमाइले पनि पुज्थे । भागेश्वर कपडदेउ सालमुनी देवस्थल सेवा समितिका अध्यक्ष गोरख बहादुर बोगटीका अनुसार २०३८÷०३९ सालतिर सडक बन्न थालेछ । मन्दिर क्षेत्रमा काम गर्दा धेरैजसो ठेकेदारहरूको भागाभग नै भयो । कैयांैले ज्यान समेत गुमाए । पछि स्थानीय ठेकेदारलाई नै काम दिइएछ । रोड खन्ने क्रममा ८ जना जति ढिस्कोमा पुरिएर मरेछन् । ठेकेदारले पनि आफ्नो छोरा गुमाएछन् । डोजर चालकले मन्दिर नजिकै रहेको वरपीपलको चौतारी फाल्न नमाने पछि कोरियन आफैले डोजर चलाएर चौतारी फालेछन् । तर तुरुन्तै कोरियनलाई पनि बेसन्चो भएछ । रगत बान्ता गरेछन् र त्यहाँबाट करिव दस कि.मि. टाढा रहेको आफ्नो बासस्थान पुगेर प्राणत्याग गरेछन । मन्दिर जसरी पनि सार्नु पर्ने भैसकेको थियो । मान्छेमा अब के पो हुने हो भन्ने डर त्रास बढीरहेको थियो । कसैले आँट गरेका थिएनन् मन्दिरका सामान सार्न । इन्द्र दाश अधि सरेछन र भनेछन् , ‘यी मेरा डाले देवता हुन । यिनलाई माथि सार्ने काम म गर्छु ।’ तिनै इन्द्र दाशले देउताका सरसामान जति च्यादरमा राखी पिठ्युमा बोकेर सडकभन्दा माथि हालको मन्दिर भएको ठाउँमा सारेछन् । सडक निर्माणकर्ताले सडकभन्दा माथि नयाँ मन्दिर बनाइदिएछन् र पुज्न थालेछन् । मन्नो पर्की पछाडी अहिले तोकिएको एकजना मात्रै पुजारी भन्ने छैन । गन्धर्वहरू जसले पनि पुज्ने गरेका छन् ।

सालमुनी

सालमुनीको बारेमा थाहापाउनुपूर्व भागेश्वर र केदार कपड्यौतिका बारेमा सुनिँदै आएका केही प्रसङ्गहरू उल्लेख गर्न सान्दर्भिक देखिन्छ । सालमुनीको मन्दिरबाट करिव पाँच मिनेट जति हिँडेपछि पुगिन्छ भागेश्वरको मन्दिरमा । लोकोक्ति अनुसार कैलाश पर्वतबाट बगेर आएको शिवलिङ्ग राती भएको सपनाको आधारमा दिपायल सिलगढी नगरपालिका अन्तर्गत बाफी गाउँका भगी साउँदले भेटाई पूजा गर्न थालेपछि भागेश्वर नाम रहन गएको कुरा अध्यक्ष गोरख बोगटी सुनाउँछन । महाभारत र पुराणमा वर्णन गरिएअनुसार कश्यप ऋषिका पत्नीहरू मध्ये अदितीका तर्फबाट १२ वटा आदित्य नामक सूर्य पुत्रहरूको जन्म भयो । तिनै बाह्र आदित्यहरू मध्येका एउटा हुन भग । तिनै भग भागेश्वर नामले पुकारिन थाले । तिनै भागेश्व सूर्यवंशी राजाका कूलदेवता पनि हुन भन्ने कुरा महाभारतमा उल्लेख भएको पाइन्छ भनी पद्मराज जोशी भारद्वाजले आफ्नो पुस्तक कालो पातलमा उल्लेख गरेकाछन् । थुप्रै भेटिनसक्छन् यस्ता किम्बदन्ति अनि मिथकहरू । जेसुकै भए नि भागेश्वर भनेका शिव हुन । नदी किनारमा निकै ठूलो शिवलङ्ग वर्षौदेखि गाडिएर रहेको छ । थोरै मात्र भाग बाहिर देखिएको छ । वर्खाको भेलले माटो थुपार्दै गर्दा पुरै पुरिन थालेपछि एक वर्ष अघि मात्र उत्त शिब लिङ्गको वरिपरि खारेछन ११ फिट गहिराइसम्म पुग्दा नि तलका सबै पाउ देखिएनन् । उक्त शिवलिङ्ग तीन पाउको भएको कुरा सुन्नमा आउँछ । खोतल्दै जानेक्रममा माटोमुनि लुकेका केही पुराना सिक्काहरू भेटिएछन् । जसमा सुरेन्द्र बीरबिक्रम शाह र पृथ्वी बीरबिक्रम शाहको नाम उल्लेख छ ।


भागेश्वरको मन्दिर नजिकै छ त्यहाँको मट्टे देवताका रुपमा परिचित केदार कपड्यौतिको मन्दिर । यहाँ पनि पशुवली चढ्दैन । यिनै कपड्यौति र भागेश्वरका अडपरिया अर्थात अङ्गरक्षक मानिन्छन् सालमुनी । सालमुनीमा चढाएको सुन, चाँदी, पैसा ती पूजागर्नेहरू जसले भेटायो उसैले राख्छन् खल्तीमा तर पनि कुनातिर अरुले नदेखेको ठाउँमा भेटिएका सुनका टुक्रा र पैसा जम्मा गरेका छन् बोगटीले । बोगटी भन्छन ‘कालागाढदेखि समुवागाडसम्म सातवटा मसानघाटहरू छन । जसका अधिपति सालमुनी नै हुन् ।’ सुरुमा सालको रुखमुनी थियो रे मन्दिर यही भएर सालमुनी भनिएको हो कि जस्तो लाग्छ । जेसुकै भनिए तापनि सालमुनी भनेका महाकाल भैरव हुन । यिनले जुनसुकै रुप पनि धारण गर्न सक्छन । जहाँ बलि चढाउन जाँदा कृष्ण पक्षमा जानु पर्ने घरबाट जाँदा बेजोडा जानु पर्ने, महिला र केटाकेटीले जान नपाउने र बोका बलि चढाउँदा भागेश्वरले नदेखून् भनेर पछ्यौरीको पर्दा हालेर काट्नु पर्ने मान्यता रहेको छ ।


सालमुनीकै दैलो मुनिबाट जानु पर्ने हुन्छ दिपायल । हालसम्म जति हाकिमहरू क्षेत्रीय सदरमुकाममा सरुवा भएर आए अधिकांशले सालमुनीलाई बोका बलि दिएरै गए । प्रहरी र सेनाका हाकिमहरू फुर्सद हुँदा बिहानै दर्शन गर्न पुग्छन् । दिपायलबाट ७ कि.मी. टाढा रहेको मन्दिरको सरसफाइ गर्न बिहान बिहानै दौडिँदै आइपुग्छन् सेना र पुलिसका जवानहरू पनि । हरेक बिहान सरसफाई गरेर भागेश्ववर, सालमुनीलाई ढोंग्दै फर्किरहेका सेनाका जवानहरू देखिन्छन् सडकमा । आफ्नै उमङ्गमा दाया बाया छालफाल्दै दौडिरहेकी हुन्छिन् सेती । शक्ति केन्द्रको बारेमा कुरा गर्दै जादा सुनाइरहेका हुन्छन् बुढापाकाहरुले – ‘माल खानू जुझी पाहाड खानू पूँजी ।‘ अर्थात मधेशमा जुझेर, जुझारु बनेर खानू, पाहाडमा देवी देउता पुजेर खानू ।