यातायात गुरु योजना निर्माणमा नगरपालिका

डोटी- सडकहरुको क्षेत्र निर्धारण हुने गरि शिखर नगरपालिकाले आगामी बर्षबाट राष्ट्रिय मापदण्ड अनुसार नगरभित्रका सबै सडकहरुको नगर यातायात गुरु योजना तयार पार्न लागेको छ ।


शिखर नगरपालिकाको गत असार १० गते बसेको पाँचौ नगरसभाको बैठकले आगामी आवका लागि तयार गरेको निती तथा कार्यक्रममा सो गुरुयोजना बनाउने निर्णय पारित गरेको छ । नगर गुरुयोजना पछि क्षेत्राधिकार भित्र रहेका सबै सडकहरु राष्ट्रिय मापदण्ड अनुसार मर्मत सम्भार तथा स्तरोन्नती हुने नगरप्रमुख सिताराम जोशीले बताए । ‘हाम्रो प्रमुख प्राथमिकता पर्यटन र कृषि हो’, नगरप्रमुख जोशीले भने,‘त्यसका लागि सडक नभई हुन्न तर गुणस्तरीय सडक निर्माणका लागि गुरुयोजना भएमात्र बनाउन सम्भव छ ।’
जताभावी डोजर चलाउने र पहाड खोतल्ने काम गुरुयोजना पछि न्युन हुने उनको दाबी छ । ‘तेलेलेकसम्म सडक लैजाने योजना हो, त्यसका लागि अहिले ट्रयाक मात्र खोलीरहेका छौं’, उनले भने, ‘त्यसपछि सडकको गुणस्तरका लागि गुरुयोजनाको मार्गदर्शन अनुसार अघि बढ्नेछौं ।’
आफ्नै नगरबस संचालन गरिरहेको शिखर नगरपालिकाले नगरका मुख्य मुख्य ठाउहरुमा बस स्टेण्ड तथा यात्रु प्रतिक्षालय बनाउने, तल्कोट–धुरकोट, गोपघाट–लाटामाण्डौ, बान्डुङग्रीसैन–उच्चाकोट, पाटी सेरा–मुडेगाउँ, समूहगाड–नापानी लगायतका सडकहरुको स्तरोन्नती गर्दै क्रमशः ढल निकास सहित कालोपत्र गर्ने कार्यक्रम आगामी आर्थिक बर्षका लागि बनाएको छ ।
आगामी आ.ब. २०७६।०७७ का लागि शिखर नगरपालिकाले कुल ४६ करोड ९५ लाख पचास हजार अनुमानित रुपैया प्रस्तावित गरेको छ । जसमध्य नगर तथा वडातर्फको प्रशासनिक खर्च तर्फ रु. ७ करोड ४३ लाख ५० हजार , पूँजिगत कार्यक्रम खर्च तर्फ रु. १६ करोड ६२ लाख विनियोजन गरिएको छ । विषयगत शसर्त अनुदान तर्फको खर्च रकम भने २२ करोड ९० लाख विनियोजन गरेको छ । नगरले आगामी आर्थिक बर्षका लागि मुख्य सडक तथा बस्तीहरुमा सौर्य बत्ति, ५०० जना क्षमता बोक्न सक्ने सभाहलका लागि स्थान छनोट, हरित शहर अभियान, भौत्तिक संचरना अपाङ्ग तथा बालमैत्री बनाइने, निजी– सरकारी अवधारणामा शित भण्डारण गृह बनाउने, किसानहरु लाई सामुहिक खेतीका लागि अनुदान दिइ नगरलाई अर्गानिक कृषि क्षेत्रका रुपमा बिकास गर्ने जता योजनाहरु लाई प्राथमिकता दिएको छ ।
नगरप्रमुख सिताराम जोशीले स्थानीय स्तरबाट सर्वपक्षिय छलफलमा आधारित भई बस्तीस्तरबाट योजनाहरु ल्याइएको बताए । उनले आफ्नो कार्यकालभित्रमा तेलेलेकको बिकास र प्रर्बधन गरी सुदूरपश्चिमको पर्यटकिय गन्तव्य बनाइ छाड्ने दाबी गरे । ५ बर्षभित्र खानेपानीको समस्या समाधान गर्ने, सार्वजनिक पुस्तकालय खोल्ने, सबै जातजाति,भाषाभाषी ,धर्मावलम्वी, कला संस्कृतीहरुको पहिचान झल्कने गरी संग्रहालय स्थापनाका लागि प्रकृया अघि बढाइने समेत आगामी बर्षका लागि तयार निती तथा कार्यक्रममा उल्लेख छ ।