शिक्षामा लोकप्रिय, भ्रष्टचारमा शुन्य सहनशिलता

एनपिएल न्यूज, डोटी- संविधानको अनुसुची–८ मा स्थानीय तहका एकल अधिकारक्षेत्रभित्र शिक्षालाई राखिएको छ । तर, विगतबर्षका स्थानीय तहका बजेटहरु हेर्ने हो भने, शिक्षाले उचित स्थान पाएको पाईदैन् । यद्यपी यसवर्ष(आव२०७६÷०७६) पनि अधिकांश स्थानीय तहमा शिक्षाले अझै पर्याप्त कार्यक्रम पाउन सकेको छैन् ।


यसैक्रममा केआईसिँह गाउँपालिकाको नीति तथा कार्यक्रममा भने शिक्षा क्षेत्रका लागि यसवर्ष लोकप्रिय कार्यक्रमहरु समेटिएका छन् ।
जसमा स्थानिय भाषा, बिषयबस्तु, संस्कृति, परम्परा र इतिहास समेटेर बिद्यालयको स्थानिय पाठ्यक्रम निर्माण गर्ने कुरालाई महत्वका साथ समेटिएको छ ।
यस्तै गाउँपालिका भित्रका ५ वटा बिद्यालयहरुलाई नमुना बिद्यालयका रुपमा छनोट गरी बिद्यार्थीको सिकाइ उपलब्धी सुधारका लागि ‘किताबसंग बालक’ कार्यक्रम लागु गर्ने जसबाट हरेक बर्ष कम्तिमा ५ अंकका दरले सिकाइ उपलब्धी बृद्धि हुने अपेक्षा गरिएको छ ।
सोही अन्तर्गत ती विद्यालयमा शैक्षिक गुणस्तर प्रति बिद्यालय ब्यवस्थापन समिति र अभिभावकहरुलाई जिम्मेवार बनाउन ‘व्यवस्थापन र सम्वन्वय मेरो जिम्मेवारी’ तथा ‘विद्यालयसँग अभिभावक’ कार्यक्रम लागु गर्ने लक्ष्य लिईएको छ ।
पाँचवटै विद्यालयमा बिद्यालयलाई हरियाली, मनमोहक र शैक्षिक बाताबरणयुक्त बनाईने, त्यसका लागि ‘एक पाठशाला एक बगैंचा’ कार्यक्रम बिद्यालयमा संचालन गर्ने, बिद्यार्थीलाई पढाईप्रति सृजनशिल बनाउन बिद्यालय र कक्षाकोठा आर्कषक,चिटिक्क र सफा बनाउनका लागि बिद्यालयहरुलाई ‘सृजनाको स्रोत, कक्षाकोठा’ अभियान चलाइने लक्ष्य लिईएको छ ।
यस्तै गतबर्ष लिइएको निति अनुसार यस आर्थिक बर्षमा झिमेमालिका माध्यमिक विद्यालयमा कृषि बिज्ञान तर्फको प्राबिधीक बिषय पढाइका लागि आवश्यक ब्यवस्थापन गर्ने, गाउँपालिका क्षेत्रभित्रका सबै विद्यालय, समुदायस्तरमा वडास्तर र गाउँपालिकास्तरमा रहेका बालक्लवहरुको क्षमता विकास कार्यक्रम संचालन गर्ने, शिक्षाको गुणस्तरका लागि बिद्यालयहरुको क्षमता, आवश्यकता र सामथ्र्यका आधारमा अनुदान तथा लगानी गर्ने, ई हाजिरीको कार्यान्वयनका लागि निर्देशिका बनाइ कडाईका रुपमा कार्यान्वयन गरिने लगायतका बुँदाहरु समेटिएका छन् ।
यस्तै सुशासन प्रवद्र्धनमा भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीती लिईने नीति तथा कार्यक्रममा समेटिएको छ । जसमा ‘गाउँपालिकामा भ्रष्टाचार शुन्य सहनशीलताको नीति लिइनेछ । भ्रष्ट्राचारको गन्ध समाजमा आउन दिइने छैन । सुशासन बिकासको महत्वपूर्ण आधारस्तम्भ भएकाले पारदर्शि, जवाफदेहिता बनाउनके आई सिह गाउपालिकाको सुशासन निती र सामाजिक जवाफदेहिताका औजारहरुको कार्यबिधि अवलम्बन गरिनेछ ।’ भनी उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाको बिकास तथा निर्माण कार्यहरुमा नागरिक समाजको सहभागिता र संलग्नताको लागि बाताबरण तयार पारिने, गाउँपालिकाको वित्तिय कारोवारलाई कम्प्युटरकृत गरी थप व्यवस्थित गरिने । ई सेवालाई प्रभावकारी गर्दै प्रत्येक वडाहरुलाई सूचनामैत्री बनाउन कार्यक्रम संचालन गरिने, स्थानिय तहको कर्मचारीको लागि अवकाश कोषको स्थापना गरिनेछ । कोष प्रचलीत नितीनियम अनुसार संचालन गरिने, गाउँपालिकालाई आवश्यक पर्ने उपकरण, स्टेशनरी सामानहरु खरिद गर्दा गुणस्तरीय चिन्ह प्राप्त र ग्यारेन्टी भएका सामानहरुलाई प्राथमिकता दिइनेछ साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिईने, कार्यालयमा भएका साधन उपकरणको वेलैमा नियमित मर्मत सम्भार गर्ने, अधिकतम पहिचान गर्ने र स्रोत अभिवृद्धिमा समेत प्रयोग निति ल्याइने उल्लेख छ ।
यस्तै गाउँपालिकाका प्रत्येक कार्यालयमा क्षतिपूर्ति सहितको नागरिक वडा पत्र व्यवस्था गरि कार्यान्वयन गरिने, प्रचलित कानुन वमोजिम वडा कार्यालयबाट सम्पादन गरिने सबै किसिमका सेवाहरुलाई विकेन्द्रीकरण सेवा संचालन गर्न प्रभावकारी व्यवहारिक बनाइने, कार्यालयमा रहेका विभिन्न सवारी साधन, मेशिन, उपकरण, फर्निचरहरु लगायतका जिन्सी सामानहरु र कार्यालय संरचना चालु अवस्थामा राखिने लगायतका बुँदाहरु उल्लेख गरिएका छन् ।