टोलटोलमा पढाइ शिविर : घरघरमा पढाइ कुना

170

पवन महरा
डोटी ७ जेठ
आदर्श गाउँपालिका–१ बाहुनटाँकका नविन खड्का कक्षा २ मा पढ्छन् । उनि हप्ताको ६ दिन बिद्यालय जान्छन् भने शनिवारको दिन बिहान ७ बजे पढाइ शिविरमा सहभागी हुन्छन् । पढाइ शिविरमा सहभागी हुनु अघि पढाइमा मन नलगाउँने , बोल्न पनि लजाउँने नविन बिद्यालयबाट फर्के पछि बिदाको समय गाउँघर डुलेरै बिताउँथ्ये ।


नविनकी आमा कल्पनाका अनुसार उनि अहिले निरन्तर बिद्यालय जान्छन् । पढ्न रुचाउँछन् । निर्धक्क बोल्न र प्रश्नको जवाफ दिन्छन् । घरको पढाइ कुनामा आफुले बनाएका चित्र र पुस्तकहरु सजायर जतन गरि राख्छन् ।
आदर्श–२ मनकोटकी हेमा बाग पनि आत्मविश्वासका साथ आफ्नो प्रस्तुति दिन सक्छिन् र निरन्तर पठन पाठनमा ध्यान दिन्छिन् ।
नविन र हेमा मात्र होइन, उनीहरूजस्तै धेरै बालबालिका पढाई शिविरका कारण आफ्नो सिकाइ स्तर र अतिरिक्त क्रियाकलापमा समेत अब्बल बन्न थालेका छन् । पढाई शिविरको लक्ष्य बालबालिकामा बुझेर पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धि बढाउने रहेको छ ।
अहिले आदर्श गाउँपालिकाका टोलटोलमा पढाई शिविर सञ्चालन हुँदै आएको छ । प्रारम्भिक शिक्षालाई गुणस्तरीय र बालबालिकाहरुमा नियमिति पढ्ने बानिको विकास गर्न बालवालिकाहरुको सिकाई उपलब्धिमा बृद्धि गर्न शिविर सञ्चालन गरिएको हो ।
हरेक हप्ताको शनिवार सञ्चालन हुने पढाई शिविरमा ३ बर्ष उमेर पुगेका बालबालीका देखि कक्षा ३ सम्म पढिरहेका बालबालिकाहरुको सहभागिता हुन्छ । २०७५ बाट शुरु भएको पढाई शिविर अहिले आदर्श गाउँपालिकाका ५९ वटा टोलमा सञ्चालन हुँदै आएको छ । ५९ वटा पढाइ शिविर केन्द्रमा ५९ जना तालीमप्राप्त पढाइ विकास सहजकर्ता राखेर गाउँभरीका बालबालीकाहरुलाई एक ठाउँमा भेला गराएर हरेक शनिवार ९० मिनेटको कक्षा सञ्चालन गरिन्छ । सहजकर्ता सँग बालबालिका खेल खेल्ने, गीत गाउने, कथा सुन्ने र चित्र बनाउने पनि गर्छन् ।


शिविरमा आउँने बालबालिकाहरुलाई कापि, किताव, पेन्सिल लगायतका शैक्षीक सामग्री निःशुलक उपलब्ध गराइन्छ । शिविरबाट ३ कक्षा पास गरेका बालबालिकाहरुलाई प्रमाण पत्र सहित बिदाई गरिन्छ ।
शिविरमा बालबालीहरुलाई ७ वटा चरणमा पढाउँने गरिन्छ । शुरुमा स्वतन्त्र खेलबाट शुरु हुने कक्षा क्रमसः बालगीत, बिषयबस्तु, कथा, पढ्ने लेख्ने क्रियाकलाप, बनाउ र लैजाउ हुँदै दैनिकि लेख्न लगाएर अन्त्य हुन्छ । बालबालीकाहरुले शिविरमा सिकेका लेखेका पढेका कुराहरु घरमा गएर अविभावकहरुलाई देखाउँने गर्दछन् । शिविरमा आउँने बालबालीकाहरुमा बढ्ने बानीको विकास भएको अविभावकहरु बताउँछन् ।
पढाई शिविर सञ्चालन गर्न सम्बन्धित टोलबाट सहजकर्ता छानेर उनिहरुलाई बेलाबेलामा तालिम प्रदान गरी बालबालिकाहरुलाई पढाउँन लगाइन्छ । यसरी गाउँगाउँमा पढाई शिविर सञ्चालन भएपछि बिद्यालयमा पनि राम्रो प्रभाव परेको र शिविरबाट आउँने बालबालिकाहरुमा अन्य बालाबलिका भन्दा फरक क्षमता हुने गरेको प्रभात माध्यमिक बिद्यालय देहिमाण्डुका प्रधानाध्यापक गणेशप्रसाद अवस्थीले बताए ।
पहिले बालबालिका आफ्नो कक्षाकोठाको पढाइमा मात्र केन्द्रित हुने भएकाले विद्यालय आउन समेत मान्दैनथे । अहिले शनिवार पनि उनीहरू कुनै अप्ठ्यारो नमानी पढाइ शिविरमा सहभागी हुने गरेको प्रधानाध्यापक अवस्थीले बताए । यसअघि कक्षाकोठामा सबै बालबालिका सक्रिय हुन नसकेको भए तापनि यो पढाइ शिविरपछि भने सबै बालबालिकाको समान र सक्रिय सहभागिता रहने गरेको उनको भनाइ छ ।


उचित स्रोतसाधन र तालीमप्राप्त शिक्षकको अभावमा कक्षाकोठाको पढाइमा मात्र सीमित यहाँका बालबालिका पढाइ शिविरका कारण अहिले स्पष्ट बोल्न, चित्र बनाउन, नाच्न र गाउन सक्ने भएका छन् । बिद्यालयको बिदाको दिन शनिबार बालबालिकाहरु शिविरमा खुसि भएर जाने गरेकाछन् । शिविरमा हाँस्दै खेल्दै रमाउँदै बढ्न पाउँने भएकाले पनि बालबालिकाहरु शिविरमा जान रुचाउँने गरेका छन् । शिविरमा आउँने बालबालिकाका अविभावकहरुलाई महिनाको एक दिन भेला गराएर सचेतना गोष्ठी पनि गरिन्छ । जसले गर्दा अविभावकहरुमा आफ्ना बालबालिको पढाई, सरसफाई लगातका कुरामा ध्यानाकर्षण गराउँछ । वल्र्डभिजिनको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले सहजिकरण गरिरहेको शिक्षा परियोजना अन्तरगत सञ्चालन गरिएको उक्त पढाई शिविर प्रभावकारी देखिएकाले परियोजनाको समयाअबधि पछि पनि गाउँपालिकाले निरन्तरता दिने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले पढाई शिविर बालबालिकाहरुका लागि प्रभावकारी रहेको बताए । उनले भने,‘शिक्षा परियोजनाले गाउँपालिकामा शुरुवात गरेको पढाई शिविरले बालबालिकाहरुमा पढ्ने बानिको बिकास भएको छ । उनिहरु पढाईप्रति उत्सुक देखिन्छन् । परियोजनाको कार्यअबधि सकिए पछि हामीले पढाई शिविरलाई निरन्तरता दिने छौं ।’
पढाई शिविर सञ्चालन हुँने ठाउँ बालबालिकाहरुको रुचि जाग्ने खालका चित्र भएका पुस्तकहरु, पोष्टरहरु, रङ्गिन प्ले कार्डहरु, कथाका पुस्तकहरु लगायतका शैक्षिक सामग्रीहरुले सजाएको पाइन्छ । जसले गर्दा बालबालिकाहरु सिक्न पढ्न निकै उत्साहित हुन्छन् ।

घरघरमा पढाइ कुना

शिविरमा आउँने बालबालिकाको घरमा अविभावकको सहकार्यमा पढाइ कुना बनाईएकोे हुन्छ । घरको एउटा कोठामा बालबालिकाका शैक्षिक सामग्री, पोशाक आदी राखिएको ठाउँलाई पढाइ कुना भनिन्छ ।
पढाइ शिविरमा बालबालिकाले आफूलाई मन पर्ने चित्र बनाइ आफ्नो घरको पढाइ कुनामा सजाउने गरेको हिन्नेकाँडा पढाई शिविरका सहजकर्ता प्रेमराज ओझाले बताए । जसले गर्दा बालबालिकाहरु घरमा समेत रुचिपुर्ण तरिकाले पढ्ने गर्दछन् । शिविरमा आउने बालबालिकाहरु शान्तपुर्ण बाताबरणमा रमाउँदै जिज्ञासु भएर पठाईमा ध्यान देउन् उनिहरुलाई घर परिवारबाट पढाइमा कुनै बाधा नपुगोस् भन्ने तवरले बढाइ कुनाको अनिवार्यता गरिएको छ । घरमा पढाइ कुना राखे संगै बालबालिकाहरु चाँडै घर आउने, खाना खाइसके पछि पनि आफ्नो पठन पाठनमा लाग्ने चित्र बनाउँने, बिद्यालयबाट फर्किसके पछि गृहकार्य गर्ने जस्ता क्रिर्याकलापमा लाग्ने गरेको अविभावकहरु बताउँछन् ।
हप्ताको ६ दिन बिद्यालयमा बिताउँने बालबालिकाहरुको सातौं दिन खेर नजावस्, उनिहरुमा पठन सिपको विकास होस्, पढाइ निरन्तर होस् भन्ने उद्येश्यले पढाई शिविर सञ्चालन गरिएको शिक्षा परियोजनाका तालिम संयोजक गोविन्द कठाएतले बताए ।
शिविरमा बालबालिकाहरुले व्यक्तिगत सरसरफाई, स्वास्थ्य सम्वन्धि विभिन्न सीपहरु सिक्ने, व्यवहारिक विषयबस्तुहरु सिकाईने भएकाले बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको देखिन्छ । गरिविको रेखामुनी रहेका बालबालीकाहरुका लागि प्रभावकारी बन्दै गएको पढाई शिविरले महङ्गो पैसा तिरेर बालबालिकाहरु ट्यूसन पढाउँनु पर्ने बाध्यता समेत हटेको आदर्श गाउापालिका–१ का वडाध्यक्ष नरेश खड्काले बताए । उनले वडाको पहलमा पढाइ शिविरलाई थप सहयोग गरेर प्रभावकारी बनाउँदै निरन्तरता दिने बताए ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...