सर्वोच्चले आयोगलाई सोध्यो : प्रत्यक्षतर्फ २ वटा मत छाप्ने तयारी के हुँदै छ ?

51

एनपिएल न्युज काठमाडौं, कात्तिक ८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने कार्य प्रगति पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । यसअघि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अलगअलग मतपत्र बनाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएको सर्वोच्च अदालतले बुधबार प्रत्यक्षतर्फको चुनावका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने बारेमा के भइरहेको छ भनेर आयोगसँग प्रगति विवरण मागेको छ ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवलाई विपक्षी बनाउँदै राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको अदालतको अवहेलना रिटमा सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यस्तो आदेश दिएको हो । यसअघि शुक्लाले नै दायर गरेको रिटमा समानुपातिकतर्फ मतपत्र छापिसकेकोले अन्तरिम आदेश दिनु नपर्ने तर प्रत्यक्षतर्फको मतपत्र कात्तिक १० गतेदेखि छापिने भएकाले निर्वाचन आयोगले कानुन अनुसार विचार गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सर्वोच्चले दिएको थियो ।

त्यो आदेशको भावना विपरित निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ एउटै मतपत्र छाप्ने तयारी गरेको र त्यसले अदालतको अवहेलना भएको भन्दै शुक्लले अर्को रिट दायर गर्नुभएको थियो । शुक्लले दोश्रो पल्ट हालेको रिटमाथिको सुनुवाईमा सर्वोच्चले आफ्नो पहिलो आदेशमा उल्लेख भएको गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा भन्ने शब्दावलीको मर्म र भावना अनुकूल आयोगले प्रत्यक्षतर्फ दुई भिन्न भिन्नै मतपत्र बनाउनु पर्ने भनेको छ ।

छुट्टा छुट्टै ऐन बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि अलगअलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेकोले दुई वटा मतपत्र छाप्ने कार्यमा भएको प्रगति पेश गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चको यो आदेशपछि आयोगको शुक्रबारदेखि मतपत्र छाप्ने तयारीमा असर पर्ने भएको छ ।

Loading...